नेकपा (एमाले) ले संगठन सुदृढीकरण, निर्वाचन समीक्षा र आगामी राजनीतिक रणनीति तय गर्ने उद्देश्यसहित देशव्यापी सुझाव सङ्कलन अभियान सञ्चालन गर्ने भएको छ। पार्टी उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको पहिलो बैठकले असार १९ गतेसम्म विभिन्न तहमा सुझाव सङ्कलन गर्ने निर्णय गरेको हो।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को प्रमुख आतिथ्यमा बसेको बैठकले प्रदेशदेखि केन्द्रसम्म व्यापक छलफल र सुझाव आदानप्रदान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
कार्यक्रमअनुसार जेठ ३० गते बागमती प्रदेशबाट सुरु हुने अभियान असार १३ गतेसम्म सातै प्रदेशमा सञ्चालन हुनेछ। त्यसपछि काठमाडौं, सम्पर्क समन्वय समिति, जनसंगठन तथा विभागीय नेतृत्वसँग क्रमशः छलफल कार्यक्रम आयोजना गरिनेछ।
पार्टी प्रचार विभाग प्रमुख निरज आचार्य का अनुसार संगठनलाई थप प्रभावकारी र जनतासँग जोडिएको बनाउन कार्यकर्तादेखि नेतृत्व तहसम्मका सुझाव सङ्कलन गरिनेछ। प्रदेशस्तरीय कार्यक्रममा केन्द्रीय सदस्य, प्रदेश कमिटी, जिल्ला पदाधिकारी तथा सम्बन्धित संरचनाका प्रतिनिधिहरू सहभागी हुनेछन्।
बैठकले कार्यदलको सदस्य–सचिवको जिम्मेवारी शंकर पोखरेल लाई दिने निर्णय पनि गरेको छ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीलाई अझ एकताबद्ध, अनुशासित र जनमुखी बनाउने दिशामा केन्द्रित हुनुपर्नेमा जोड दिए। उनले कार्यकर्तालाई जनताका मुद्दा र आवश्यकतासँग प्रत्यक्ष जोडिएर काम गर्न आग्रह गरेका थिए।
कार्यदलका सदस्य तथा एमाले सचिव महेश बस्नेत का अनुसार बैठकमा निर्वाचन परिणामको समीक्षा, संगठन पुनर्संरचना र भावी राजनीतिक कार्ययोजनाबारे विस्तृत छलफल भएको थियो।
























