हेटौंडा । हेटौंडास्थित यातायात व्यवस्था कार्यालयमा आइतबार बिहान विद्युत सर्टका कारण आगलागी भएपछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी अधिकांश सेवा प्रभावित भएका छन्।
कार्यालयका अनुसार बिहान करिब ८ः४० बजे इन्ट्रानेट प्रणालीसँग सम्बन्धित डिभाइसहरूमा विद्युत सर्ट भई आगलागी भएको थियो। घटनाले लाइसेन्स प्रशासनसँग जोडिएका प्राविधिक उपकरणमा क्षति पुर्याएपछि सेवा प्रवाहमा समस्या उत्पन्न भएको हो।
कार्यालयले जारी गरेको सूचनाअनुसार नयाँ लाइसेन्सका लागि आवेदन दर्ता, वर्ग थप (क्याटेगोरी थप), बायोमेट्रिक विवरण संकलन तथा लाइसेन्स नवीकरणलगायतका सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।
यद्यपि, पूर्वनिर्धारित कार्यतालिका अनुसार सञ्चालन हुने प्रयोगात्मक (ट्रायल) परीक्षा भने यथावत् रहने कार्यालयले स्पष्ट गरेको छ।
कार्यालयका अधिकृत टेकनाथ काफ्लेले आगलागीबाट भएको क्षतिको मूल्याङ्कन तथा प्रणाली पुनः सञ्चालनका लागि आवश्यक प्राविधिक काम भइरहेको जानकारी दिएका छन्। सेवामा आएको अवरोधबाट सेवाग्राहीलाई परेको असुविधाप्रति कार्यालयले क्षमायाचना समेत गरेको छ।
























