बाराका एक ईभी भ्यान चालकले आफ्नै ज्यान गुमाउनुअघि १४ यात्रुको ज्यान बचाउँदै सम्भावित ठूलो दुर्घटना टारेका छन्।
बुधबार अपराह्न करिब ४ बजे नारायणगढबाट वीरगञ्जतर्फ १४ यात्रु बोकेर जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ११२४ नम्बरको ईभी भ्यानका चालक बाराको जितपुर–सिमरा उपमहानगरपालिका–१ निवासी ५५ वर्षीय चन्द्रबहादुर बुढाथोकीलाई बाटोमै एक्कासी स्वास्थ्य समस्या देखिएको थियो।
प्रहरीका अनुसार चितवनको रत्ननगर नगरपालिका–९ स्थित कृष्ण मन्दिर प्रहरी बिट नजिक पुग्दा असहज महसुस गरेका बुढाथोकीले गाडीको गति घटाउँदै सुरक्षित रूपमा सडक किनारमा रोके। गाडी रोकेलगत्तै उनी स्टेरिङमै बेहोस भएका थिए।
कृष्ण मन्दिर प्रहरी बिटबाट खटिएको प्रहरी टोलीले उनलाई तत्काल उद्धार गरी एम्बुलेन्समार्फत बकुलहर अस्पताल, टाँडी पुर्याएको थियो। तर, चिकित्सकले अपराह्न ४ः५० बजे मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार चालक बुढाथोकीले अन्तिम क्षणसम्म सवारीसाधनलाई नियन्त्रणमा राख्दै सुरक्षित रूपमा रोकेकाले ठूलो दुर्घटना हुनबाट जोगिएको हो। उनी सवार भ्यानमा रहेका सबै १४ यात्रु सकुशल रहेका छन्।
घटनाका प्रत्यक्षदर्शी तथा सोही भ्यानका यात्रु दीपक कुमारका अनुसार चालकले असहज अवस्था हुँदाहुँदै पनि गाडीको नियन्त्रण गुमाएनन्। गाडी रोकेपछि मात्रै यात्रुले चालकको अवस्था गम्भीर रहेको थाहा पाएका थिए।
घटनापछि प्रहरीले यात्रुहरूको व्यवस्थापन गर्दै उनीहरूलाई अर्को सवारीमार्फत गन्तव्यतर्फ पठाएको जनाएको छ।
चालक बुढाथोकीको साहस र कर्तव्यनिष्ठाको विभिन्न क्षेत्रबाट प्रशंसा भइरहेको छ। एमाले नेता सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै अन्तिम क्षणसम्म यात्रुको सुरक्षालाई प्राथमिकता दिएको भन्दै बुढाथोकीको जिम्मेवारीबोधको उच्च प्रशंसा गरेका छन्।-नेपाल खबरबाट ।
























