काठमाडौं । नेपाल टेलिकमका सेवाग्राहीले अब सिमकार्ड र कम्पनीका अन्य आवश्यक सामग्रीका लागि कार्यालय धाउनुपर्ने छैन। आगामी साउन १ गतेदेखि टेलिकमका सिमकार्ड तथा अन्य सामग्री हुलाकमार्फत सेवाग्राहीको घरमै पुग्ने भएका छन्।
यसका लागि नेपाल टेलिकम र हुलाक सेवा विभागबीच बिहीबार सम्झौता भएको हो। सम्झौतापत्रमा नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक रीना डंगोल र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका छन्।
नेपाल टेलिकमका अनुसार देशभर फैलिएको हुलाक सेवाको सञ्जाल प्रयोग गरी सिमकार्डसहित आवश्यक सामग्री सुरक्षित, छिटो र प्रभावकारी रूपमा सेवाग्राहीसम्म पुर्याइनेछ।
सम्झौतापछि आयोजित कार्यक्रममा निमित्त प्रबन्ध निर्देशक डंगोलले सेवाग्राहीलाई कार्यालयमा उपस्थित नभई पनि सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था गरिएको बताइन्। हुलाकसँगको सहकार्यले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उनको विश्वास छ।
महानिर्देशक भट्टराई पंगेनीले सरकारको ‘घर–दैलोमै सेवा’ भन्ने अवधारणालाई कार्यान्वयन गर्ने क्रममा नेपाल टेलिकमसँगको सहकार्य महत्वपूर्ण कदम भएको बताइन्। उनले आगामी दिनमा दुवै संस्थाबीचको सहकार्य अझ विस्तार हुँदै सेवाग्राहीले थप सहज र गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गरिन्।
नेपाल टेलिकमले यो सहकार्यले सरकारी स्वामित्वका दुई संस्थाको सेवा सञ्जाललाई एकीकृत गर्दै सेवाग्राहीलाई अझ सहज, सुरक्षित र भरपर्दो सेवा उपलब्ध गराउने अपेक्षा गरेको छ।
























