मकवानपुर । हेटौंडामा एक सुरक्षागार्डमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिका–१० रानीमहलस्थित जय गणेश वर्कसपमा सुरक्षागार्डका रूपमा कार्यरत नुवाकोट सूर्यगढी गाउँपालिका–१ निवासी ३२ वर्षीय रोहित तामाङमाथि मंगलबार राति करिब ११ः५५ बजे आक्रमण भएको थियो।
प्रहरीका अनुसार हेटौंडा–५ निवासी ३३ वर्षीय सविन नेपालीले तामाङलाई कुटपिट गरेपछि धारिलो हतियार (टाप) प्रयोग गरी शरीरका विभिन्न भागमा प्रहार गरेका थिए। घटनामा तामाङ गम्भीर घाइते भएका छन्।
घटनापछि फरार भएका नेपालीलाई वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको टोलीले बुधबार बिहान करिब २ बजे हेटौंडा–५ स्थित आफ्नै घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो। प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियारसमेत बरामद गरेको जनाएको छ।
पक्राउ परेका नेपालीविरुद्ध ‘ज्यान मार्ने उद्योग’ मुद्दा दर्ता गरी मकवानपुर जिल्ला अदालतबाट आठ दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
























