बजाज मोटरसाइकल खरिदमा नयाँ सुविधा : ६० महिनासम्मको फाइनान्सिङ, ब्याजदर ८.९९ प्रतिशत

नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले मोटरसाइकल खरिदलाई सहज बनाउन नयाँ फाइनान्सिङ योजना ल्याएको छ । कम्पनीले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) सँगको सहकार्यमा सार्वजनिक गरेको योजनाअन्तर्गत ग्राहकले अब अधिकतम ६० महिनासम्मको ऋण सुविधा पाउने भएका छन् ।

यसअघि तीन वर्षसम्म मात्र उपलब्ध हुँदै आएको ऋण सुविधा विस्तार गरी पाँच वर्षसम्म पुर्‍याइएको हो । ऋण अवधि बढेसँगै ग्राहकको मासिक किस्ता घट्ने र मोटरसाइकल खरिद थप सहज हुने कम्पनीले जनाएको छ ।

एचएच बजाजका अनुसार फाइनान्सिङको ब्याजदरसमेत ९.९९ प्रतिशतबाट घटाएर ८.९९ प्रतिशत कायम गरिएको छ । नयाँ व्यवस्थाले विशेषगरी पहिलोपटक मोटरसाइकल खरिद गर्ने युवा, जागिरे तथा मासिक बजेटअनुसार खर्च व्यवस्थापन गर्ने ग्राहकलाई राहत पुग्ने कम्पनीको विश्वास छ ।

नयाँ फाइनान्सिङ सुविधा प्लाटिना १०० ईएसदेखि डोमिनार ४०० सम्मका बजाजका सबै मोटरसाइकलमा लागू हुने बताइएको छ । कम्पनीका अनुसार प्लाटिना १०० ईएसको मासिक किस्ता करिब ३ हजार २५५ रुपैयाँबाट घटेर २ हजार १२४ रुपैयाँ पुगेको छ । त्यस्तै, डोमिनार ४०० को मासिक किस्ता ८ हजार २२७ रुपैयाँबाट घटेर ५ हजार ३७० रुपैयाँ कायम भएको छ ।

पल्सर सिरिजका विभिन्न मोडेलसहित एन२५०, एनएस४००जेडलगायत मोटरसाइकलमा पनि नयाँ योजनाअन्तर्गत मासिक किस्ता घटाइएको कम्पनीले जनाएको छ ।

एचएच बजाजले यो योजना सीमित अवधिको छुट नभई ग्राहकको दीर्घकालीन आवश्यकतालाई ध्यानमा राखेर ल्याइएको दाबी गरेको छ । नेपाल राष्ट्र बैंकको नियमनमा रहेको एचएफएलमार्फत उपलब्ध हुने फाइनान्सिङ सुविधा देशभरका एचएच बजाजका शोरुमबाट लिन सकिनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.