काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन चुस्त बनाउन मुख्यमन्त्री बानियाँको निर्देशन

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री बानियाँको अध्यक्षतामा बसेको काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी बैठकमा उहाँले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि सबै निकायलाई समन्वयात्मक ढंगले परिचालित भई प्रभावकारी रूपमा काम गर्न आह्वान गर्नुभएको हो ।

बैठकमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले वर्तमान अवस्था र विविध समस्याबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

बैठकले उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि अल्पकालीन र दीर्घकालीन योजना तयार गरी कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ । यसअन्तर्गत व्यस्त सडकमा खटिने ट्राफिक प्रहरीलाई आवश्यक उपकरण उपलब्ध गराउने, सार्वजनिक सवारी साधनको मार्ग इजाजत पत्र (रूट पर्मिट) लाई व्यवस्थित गरी विद्युतीय प्रणालीमार्फत जारी गर्ने, र सवारी चालक अनुमति पत्र प्राप्त गर्नु अघिपछि चालकलाई ट्राफिक नियमसम्बन्धी अभिमुखीकरण कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ ।

त्यस्तै, काठमाडौं उपत्यकामा आवश्यकताअनुसार ट्राफिक लाइटको व्यवस्था गर्ने, जडित लाइटलाई व्यवस्थित गर्न स्थानीय तहसँग समन्वय गरी यसको नियन्त्रण र सञ्चालन ट्राफिक प्रहरीले गर्ने व्यवस्था मिलाइने भएको छ । साथै, सुरक्षित सवारी साधन सञ्चालन तथा ट्राफिक नियम र सावधानीबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न श्रम, रोजगार तथा यातायात मन्त्रालयले ट्राफिक प्रहरीसँग समन्वय गर्ने निर्णय भएको छ ।

यस्तै, यातायात व्यवस्थापनमा देखिएका समस्या र समाधानका उपायबारे छलफल गर्न मन्त्रालयले यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी, यातायात व्यवसायी र सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी, श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बुद्ध लामा, मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव भुपाल बराल, सम्बन्धित सचिवद्वय कृष्णबहादुर शाही र बलराम ढकाललगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.