हेटौंडा । छिमेकी मुलुक भारतको सिक्किममा बिहीबारदेखि सुरु हुन लागेको १८औं एल.डी काजी स्मृति गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुन लागेको हेटौंडा फुटबल एकेडेमी, मकवानपुरलाई कोरियाबाट सहयोग प्राप्त भएको छ।
बी डिभिजन खेलाडी अजय बराल, जो हाल दक्षिण कोरियामा बसोबास गर्दै आएका छन्, उनले एकेडेमीका खेलाडीहरूका लागि २० सेट जर्सी र कट्टु सहयोग गरेका छन्। यो सहयोगको मूल्य करिब ३० हजार रुपैयाँ बराबर रहेको हेटौंडा फुटबल एकेडेमीका अध्यक्ष तथा प्रशिक्षक भीम लामाले जानकारी दिए।
लामाका अनुसार, अजय बरालको यो सहयोगले खेलाडीहरूलाई उत्साह प्रदान गरेको छ। उनले भने, “विदेशमा रहेर पनि खेलप्रति माया र समर्थन देखाउनु निकै प्रेरणादायी कुरा हो।”
हेटौंडा फुटबल एकेडेमीले प्रतियोगितामा आफ्नो पहिलो खेल आइतबार नाम्ची जिल्लाको रेड पाण्डा टिमसँग खेल्नेछ। प्रतियोगितामा १६ टिमहरूको सहभागिता रहनेछ, जसमा नेपालबाट हेटौंडा फुटबल एकेडेमी र झापा–११ नेपालले प्रतिनिधित्व गर्नेछन्। बाँकी टिमहरू भारतका विभिन्न सहरका छन्, जसमा केएफसी सिलिगुरी, सिक्किम पुलिस, हिमालयन एससी ग्यानटोक, स्टेभ ब्रदर्श मलबजारलगायतका क्लबहरू छन्।
प्रतियोगिताको उपाधि विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ। साथै, विधागत उत्कृष्ट खेलाडीहरूका लागि पनि विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
यसअघि, हेटौंडा फुटबल एकेडेमीले भारतमै सम्पन्न ७९औं इन्डिपेनडेन्ट डे फुटबल प्रतियोगितामा भाग लिएर बरमेक क्लबलाई ४–१ गोलले पराजित गर्दै उपाधि जितेको थियो।
स्थानीय खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रोत्साहन दिने र खेलमार्फत भातृत्व सुदृढ गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताको फाइनल खेल कार्तिक २३ गते हुने तय गरिएको छ।
हाल हेटौंडा फुटबल एकेडेमीमा बिहान दैनिक ५० जना खेलाडीहरू प्रशिक्षणमा सहभागी हुने गरेका छन्।



































