‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा समर्पित सशस्त्र प्रहरी बल नेपालले आज आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ। यस अवसरमा सशस्त्र प्रहरी बल मुख्यालय हलचोकमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा रजत महोत्सव विशेष समारोह आयोजना गरिएको छ।
देशमा शान्ति सुरक्षा चुनौतीपूर्ण अवस्थामा रहेका बेला जनताको जीउ, धन र स्वतन्त्रताको रक्षा गर्ने उद्देश्यसहित विसं २०५७ माघ ९ गते सशस्त्र प्रहरी बलको विधिवत स्थापना भएको हो। तत्कालीन गृहसचिव खेमराज रेग्मीको संयोजकत्वमा गठित ‘सशस्त्र प्रहरी सेवा गठन सुझाव कार्यदल–२०५६’ को सिफारिसका आधारमा तत्कालीन राजा वीरेन्द्र शाहबाट ‘सशस्त्र प्रहरी अध्यादेश, २०५७’ जारी भएपछि सशस्त्र प्रहरी बल गठन भएको थियो।
स्थापनाको प्रारम्भिक चरणमा नेपाली सेना र नेपाल प्रहरीबाट जनशक्ति स्थानान्तरण गरी संगठन सञ्चालन गरिएको थियो। सुरुमा महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परिसरमा प्रधान कार्यालय राखिएको सशस्त्र प्रहरी बलको पहिलो महानिरीक्षकमा कृष्णमोहन श्रेष्ठ नियुक्त भएका थिए।
संस्थापक महानिरीक्षक श्रेष्ठले विसं २०५९ माघ १२ गते प्रातः भ्रमणका क्रममा गोली प्रहारबाट वीरगति प्राप्त गरे। सो घटनामा उनकी धर्मपत्नी तथा सशस्त्र प्रहरी परिवार महिला सङ्घकी अध्यक्ष नुडुप श्रेष्ठ र अङ्गरक्षक सूर्यप्रसाद रेग्मीले समेत साहदत प्राप्त गरेका थिए।
स्थापनापछि तत्कालीन सरकारले सशस्त्र प्रहरीलाई सशस्त्र द्वन्द्व, विद्रोह, आतङ्कवादी गतिविधि नियन्त्रणलगायत १३ वटा कार्यादेश सुम्पिएको थियो। समयक्रमसँगै राजस्व, भन्सार, औद्योगिक सुरक्षा, रेल्वे सुरक्षा र विपद् व्यवस्थापनजस्ता थप जिम्मेवारी सशस्त्र प्रहरीलाई दिइँदै आएको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता तथा नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार २५ वर्षे यात्रामा संगठनले संरचनागत विस्तार, तालिम, जनशक्ति विकास र फौजी अनुशासनमा विशेष जोड दिँदै राज्यप्रदत्त कार्यादेश प्रभावकारी रूपमा सम्पादन गर्दै आएको छ।
हाल सशस्त्र प्रहरीले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व सहायता र विपद् व्यवस्थापनमा आफूलाई भरपर्दो सुरक्षा फौजका रूपमा स्थापित गरेको छ। विसं २०६१ मङ्सिर १ गतेदेखि प्रमुख भन्सार नाकाहरूको सुरक्षा जिम्मेवारी लिएको सशस्त्र प्रहरीले विसं २०६३ फागुन ८ गतेदेखि डेडिकेटेड रूपमा सीमा सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको छ।
हाल सशस्त्र प्रहरीले सातवटा रिजर्भ गण, ४५ सीमा सुरक्षा कार्यालय र २१५ बिओपीमार्फत सीमा सुरक्षा गर्दै आएको छ। साथै ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रममार्फत सीमा क्षेत्रको विकास, सरसफाइ, स्वास्थ्य शिविर, सचेतना र स्वरोजगारमूलक गतिविधिमा समेत योगदान पुर्याउँदै आएको छ।
विपद् व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन गर्न चितवनको कुरिनटारमा विपद् व्यवस्थापन तालिम शिक्षालय र मनाङमा पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना गरिएको छ। यसले प्राकृतिक विपद् र हिमाली दुर्घटनामा उद्धार क्षमता थप सुदृढ बनाएको छ।
रजत महोत्सवसँगै सशस्त्र प्रहरी बल नेपालले आगामी दिनमा पनि राष्ट्रको सीमा, सुरक्षा र विपद् व्यवस्थापनमा अझ प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।




































