थाहा शिक्षा शाखाद्वारा उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थी सम्मानित

थाहानगर, २६ जेठ — थाहा नगरपालिका शिक्षा शाखाले गत शैक्षिक सत्रको कक्षा ८ र एसईई परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय, शिक्षक तथा विद्यार्थीलाई सम्मान गरेको छ। मंगलबार आयोजित कार्यक्रममा नगर प्रमुख विष्णुबहादुर विष्टसहित शिक्षा समितिका पदाधिकारीहरूले खादा, प्रमाणपत्र तथा पुरस्कार प्रदान गर्दै सम्मान गरेका हुन्।

कार्यक्रममा नगर प्रमुख विष्टले शिक्षाको गुणस्तर सुधारका लागि सबै विद्यालय र शिक्षकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी काम गर्न आग्रह गरे। शिक्षा समिति सदस्य हरिकृष्ण कार्कीले शिक्षा क्षेत्रमा अझै सुधार आवश्यक रहेको बताए भने प्याब्सन थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले असारदेखि आइतबार पनि विद्यालय सञ्चालन गर्ने तयारीबारे जानकारी गराए।

एसईईतर्फ उत्कृष्ट विद्यालय

सामुदायिक विद्यालयतर्फ मत्स्य नारायण मावि, सोल्टु औसत २.२६ जीपीएसहित प्रथम बनेको छ। झम्केश्वरी मावि दोस्रो र सरस्वती मावि तेस्रो स्थानमा रहे।

संस्थागत विद्यालयतर्फ पालुङ अङ्ग्रेजी आवासीय मावि ३.१९ जीपीएसहित प्रथम, पालुङ भ्याली हार्ट एकेडेमी दोस्रो तथा पालुङ मोडर्न इङ्ग्लिस मिडियम स्कुल तेस्रो भएको छ।

उत्कृष्ट शिक्षक पनि सम्मानित

एसईई र कक्षा ८ का विभिन्न विषयमा उत्कृष्ट नतिजा दिलाउने सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरूलाई समेत सम्मान गरिएको छ। अंग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक शिक्षा, स्वास्थ्य तथा थाहा ज्ञानमाला विषयका उत्कृष्ट शिक्षकहरू पुरस्कृत भएका छन्।

उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कार

एसईईतर्फ सामुदायिक विद्यालयमा रोहित भ्लोन प्रथम, आर्शन थापा दोस्रो र जेशिका ढकाल तेस्रो भए। संस्थागत विद्यालयतर्फ सजिना रायमाझी प्रथम, सोप्निल प्रधान दोस्रो तथा सेन्ड्रीला गोपाली तेस्रो स्थानमा रहिन्।

कक्षा ८ मा सामुदायिकतर्फ सलिना थिङ, जेनिफा वाइबा र स्मृका प्रधान क्रमशः प्रथम, दोस्रो र तेस्रो भए। संस्थागततर्फ आरध्या उप्रेती, आशिष दोङ र उज्वल श्रेष्ठ उत्कृष्ट घोषित भए।

प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको शिक्षा शाखाले जनाएको छ।

नतिजामा सुधारको संकेत

थाहा नगरपालिकामा गत शैक्षिक सत्रमा कक्षा ८ मा ९४ प्रतिशत तथा एसईईमा ५७ प्रतिशत नतिजा प्राप्त भएको थियो। नगरपालिकाले उत्कृष्टता हासिल गर्ने विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिमा थप प्रोत्साहन दिने जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.