काठमाडौं । सरकारले २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने व्यवस्था लागू गर्दै नेपाल राजपत्रमा सूचना प्रकाशित गरेको छ।
आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै सरकारले यस्तो सूचना जारी गरेको हो। सूचनाअनुसार तोकिएका अत्यावश्यक सेवाहरूमा हड्ताल, बन्द वा सेवा अवरुद्ध पार्ने गतिविधि गर्न नपाइनेछ।
हड्ताल निषेध गरिएका सेवामा डाँक, तार तथा टेलिफोन सेवा, जल, स्थल र हवाई यातायातमार्फत यात्रु तथा मालसामान ओसारपसार, सञ्चार सेवा, सरकारी तथा सुरक्षा मुद्रण सेवा, खानेपानी आपूर्ति, पेट्रोलियम पदार्थको उत्पादन तथा वितरण, अस्पताल तथा स्वास्थ्य सेवा, औषधी उत्पादन र बिक्री–वितरण, फोहोरमैला व्यवस्थापन, बैंक तथा वित्तीय सेवा, बीमा सेवा, विद्युत् उत्पादन तथा वितरण लगायत रहेका छन्।
त्यस्तै दैनिक उपभोग्य वस्तुको आपूर्ति, राहदानी सेवा र जनजीवनसँग प्रत्यक्ष सम्बन्धित अन्य सेवाहरूलाई समेत अत्यावश्यक सेवाको सूचीमा समेटिएको सरकारले जनाएको छ।
सरकारको यो निर्णयसँगै तोकिएका क्षेत्रमा सेवा अवरोध गर्ने उद्देश्यले गरिने हड्ताल तथा बन्दका कार्यक्रम कानुनी रूपमा निषेधित हुनेछन्।



























