हेटौंडा । सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै अनलाइनमार्फत डाउनलोड गर्न सक्ने व्यवस्था सुरु गरेको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बिहीबारदेखि परीक्षणका रूपमा उक्त सेवा सञ्चालनमा ल्याएको हो।
विभागका अनुसार राष्ट्रिय परिचयपत्रसम्बन्धी वेभसाइटमार्फत नागरिकले आफ्नो फोटो तथा अनलाइन भेरिफिकेसनका लागि क्युआर कोडसहितको राष्ट्रिय परिचयपत्र कार्ड डाउनलोड गर्न सक्नेछन्।
यो व्यवस्था सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत समावेश गरिएको कार्यक्रमअनुसार लागू गरिएको हो। उक्त कार्यसूचीको बुँदा नम्बर २ मा विभागको प्रणालीबाट फोटो र क्युआर कोडसहितको राष्ट्रिय परिचयपत्र कार्ड सम्बन्धित व्यक्तिले आफैं डाउनलोड गर्न सक्ने प्रणाली विकास गर्ने उल्लेख गरिएको थियो।
विभागले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरिसकेका नागरिकले आफ्नो नाम (नेपाली वा अङ्ग्रेजी), जन्ममिति तथा नागरिकता जारी भएको मिति प्रविष्ट गरी परिचयपत्र डाउनलोड गर्न सक्ने जनाएको छ।
हालसम्म विभिन्न सार्वजनिक निकाय तथा संस्थाले विभागबाट प्रिन्ट गरिएको फोटोसहितको राष्ट्रिय परिचय नम्बरको निस्साका आधारमा सेवा प्रदान गर्दै आएका छन्। विभागले अब भने डाउनलोड गरिएको कार्डमा रहेको क्युआर कोड स्क्यान गरी प्राप्त हुने विवरण र सेवाग्राहीले प्रस्तुत गरेको कार्डको विवरण रुजु गरेर सेवा प्रवाह गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ।
विभागका अनुसार यो सेवाले राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने प्रक्रियालाई थप सहज, छरितो र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।
























