चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। भरतपुरस्थित गेस्टहाउस चौरमा आयोजना गरिएको महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ।
महाधिवेशनका लागि देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको पार्टीले जनाएको छ। महाधिवेशनस्थलको व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनका काम पनि सम्पन्न भइसकेका छन्।
पार्टीका प्रवक्ता मनिष झाले महाधिवेशनलाई व्यवस्थित बनाउन १८ वटा उपसमिति गठन गरिएको जानकारी दिए। उनका अनुसार राजनीतिक, आर्थिक, सांगठनिक तथा विधानसम्बन्धी प्रतिवेदनहरू तयार भइसकेका छन् भने केन्द्रीय समितिले महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावलाई समेत अन्तिम रूप दिएको छ।
महाधिवेशनअघि बसेको केन्द्रीय समिति बैठकले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन प्रस्ताव गरेको छ। सचिवालयले हालको १२१ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरी १५१ सदस्यीय बनाउने प्रस्ताव अघि सारेको हो। प्रदेश सभापतिहरूलाई पदेन सदस्यका रूपमा समेट्ने व्यवस्था पनि प्रस्तावित गरिएको छ।
विधान संशोधनपछि एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष रहने संरचना तय गरिएको छ।
रास्वपाले यसपटक पदाधिकारी तहमा महिला सहभागिता अनिवार्य बनाउने निर्णयसमेत गरेको छ। संशोधित विधानअनुसार उपसभापति, सहमहामन्त्री, सहप्रवक्ता तथा सहकोषाध्यक्ष पदमा कम्तीमा एक जना महिला रहने व्यवस्था गरिएको छ।
पार्टीका सचिवालय सदस्य तथा विधान संशोधन समितिका सदस्य गणेश पराजुलीले नयाँ संरचनाले संगठनलाई अझ समावेशी र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्। महाधिवेशनले पार्टीको आगामी राजनीतिक दिशा, संगठनात्मक स्वरूप र नेतृत्व चयनका विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।
























