हेटौँडा, असार ७ – मकवानपुर प्रहरीले हेटौँडाका विभिन्न क्षेत्रमा सञ्चालन गरेको विशेष ‘स्वीप अप्रेसन’का क्रममा खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। लागुऔषधको अवैध कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय सानोपोखराको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार पक्राउ पर्नेमा हेटौँडा–१ पानसुके चोक निवासी १८ वर्षीय अशोक गुरुङ, हेटौँडा–४ मा डेरा गरी बस्ने ४६ वर्षीय रामजी बानियाँ र हेटौँडा–५ पिप्लेकी २४ वर्षीया अञ्जली तामाङ (क्रान्ती देवी घलान) रहेका छन्।
प्रहरीले शनिबार दिउँसो नारायणीमहल नजिकैको भित्री गल्लीबाट गुरुङलाई पक्राउ गर्दा उनको साथबाट ५२० मिलिग्राम खैरो हिरोइन र ९ हजार ६०० रुपैयाँ नगद बरामद गरेको जनाएको छ।
त्यसपछि हेटौँडा–४ स्थित बानियाँको डेरामा गरिएको खानतलासीका क्रममा १२ ग्राम ३८० मिलिग्राम खैरो हिरोइन र १२ हजार ६०० रुपैयाँ नगद फेला परेको प्रहरीले जनाएको छ।
यस्तै, शनिबार साँझ पिप्ले क्षेत्रमा गरिएको निगरानीका क्रममा अञ्जली तामाङलाई ५ ग्राम १७० मिलिग्राम खैरो हिरोइन तथा ४ हजार ५०० रुपैयाँ नगदसहित नियन्त्रणमा लिइएको थियो।
प्रहरीका अनुसार तीनै जनाविरुद्ध लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ। यस कारोबारमा अन्य व्यक्तिको समेत संलग्नता हुन सक्ने देखिएकाले उनीहरूको खोजी तथा अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।
























