सडक खुलेलगत्तै ओभरटेकको हतारो, नारायणगढ–मुग्लिनमा दुर्घटना र जाम बढेपछि प्रशासनको चेतावनी

वर्षायाममा बाढी–पहिरोका कारण राति बन्द गरिएको सडक बिहान खुल्नेबित्तिकै सवारीसाधनले हतारमा ओभरटेक गर्न थालेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना र सवारीजामको जोखिम बढेको छ । चितवन प्रशासनले सडक खुलेपछि चालकलाई संयमित भएर लेन अनुशासन पालना गर्न आग्रह गरेको छ ।

आइतबार बिहान मुग्लिनतर्फ जाँदै गरेको बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा तीनवटा सवारीसाधन आपसमा ठोक्किँदा ३० जना घाइते भएका थिए । दुर्घटनापछि सडकमा केही समय सवारी आवागमन प्रभावित भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले ओभरटेक गर्ने क्रममा भएको असावधानी नै दुर्घटनाको मुख्य कारण देखिएको बताए । उनका अनुसार सडकमा ओभरटेक गर्दा दुर्घटनाको जोखिम मात्र बढ्दैन, दुर्घटनापछि लामो जाम हुँदा एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनको आवागमनसमेत प्रभावित हुने गरेको छ ।

बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै प्रशासनले शनिबार राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड र चितवन क्षेत्रमा पर्ने पृथ्वी राजमार्गमा सवारी सञ्चालन रोकेको थियो । बिहान ५ः३० बजे सडक खुलेपछि गन्तव्यमा पुग्ने हतारमा चालकले ओभरटेक गर्दा दुर्घटना भएको प्रशासनको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले ट्राफिक नियमको पालना गरे दुर्घटना र सवारीजाम दुवै कम गर्न सकिने बताए ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वर्षायाममा सडकको अवस्था संवेदनशील हुने भएकाले सडक खुलेपछि पनि चालकले हतार नगरी आफ्नै लेनमा सवारी चलाउनुपर्ने बताए । उनले नियम उल्लङ्घन गर्ने चालकलाई कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.