हेटौँडा । बागमती प्रदेश सरकारले नागरिकका समस्या, गुनासा तथा उजुरीलाई छिटो सम्बोधन गर्ने उद्देश्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘हेलो सीएम’ कक्ष स्थापना गर्ने भएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार अत्याधुनिक प्रविधिसहित सञ्चालन गरिने उक्त कक्षमार्फत प्रदेशवासीले राखेका समस्या र गुनासोलाई सात दिनभित्र फछर्यौट गर्ने लक्ष्य राखिएको छ ।
प्रदेश सरकारअन्तर्गत सञ्चालन भइरहेका आयोजनाको भौतिक तथा वित्तीय प्रगतिको नियमित अनुगमन गर्न अनलाइन प्रोजेक्ट मनिटरिङ सिस्टमसमेत विकास तथा कार्यान्वयन गरिने भएको छ । यसका लागि आवश्यक बजेट विनियोजन गरिएको मन्त्री तामाङले जानकारी दिए ।
त्यस्तै, प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान केन्द्र स्थापना गरी प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई प्रदान गरिने विभिन्न तालिमलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने सरकारको तयारी छ ।
प्रदेशमा आवश्यक पहिचान भइसके पनि निर्माण हुन बाँकी कानुनलाई प्राथमिकताका साथ अघि बढाउँदै आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन तर्जुमा वर्ष’का रूपमा मनाउने सरकारको योजना छ । साथै, प्रदेश सरकारले निर्माण गरेका नीति तथा कानुन कार्यान्वयनको अवस्थाबारे अध्ययन र विश्लेषण गर्नसमेत बजेट छुट्याइएको छ ।
सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई थप प्रभावकारी बनाउन प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रमलाई निरन्तरता दिइएको छ । मानव विकास सूचकाङ्कमा पछाडि रहेका स्थानीय तहलाई लक्षित गरी ‘पालिका मानव विकास तथा आर्थिक रूपान्तरण विशेष कार्यक्रम’ सञ्चालन गर्न चार करोड ४९ लाख रुपैयाँ विनियोजन गरिएको मन्त्री तामाङले बताए ।
























