वृद्धभत्तासहित सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले असोज मसान्तभित्र सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्नुपर्ने भएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सूचना जारी गर्दै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य सबै लाभग्राहीलाई सूचीकरण तथा परिचयपत्र नवीकरण गर्न आग्रह गरेको हो ।
सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ को नियम ९ बमोजिम लाभग्राहीले सम्बन्धित वडा कार्यालयमा स्वयं उपस्थित भई जैविक पहिचानका आधारमा परिचयपत्र नवीकरण गर्नुपर्नेछ । अस्थायी रूपमा अन्यत्र बसोबास गरिरहेका लाभग्राहीले आफू बसिरहेको वडाबाट पनि नवीकरण गराउन सक्ने मन्त्रालयले जनाएको छ ।
नवीकरण गर्दा राष्ट्रिय परिचय नम्बरका आधारमा जैविक पहिचान गर्नुपर्ने व्यवस्था गरिएको छ । यद्यपि १६ वर्ष उमेर नपुगेका बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने अशक्त व्यक्ति तथा ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि राष्ट्रिय परिचय नम्बर अनिवार्य नहुने व्यवस्था छ ।
मन्त्रालयले नवीकरणको समय असोज मसान्तसम्म मात्र रहेकाले अन्तिम समयमा वडा कार्यालयमा हुने भीड कम गर्न लाभग्राहीलाई समयमै परिचयपत्र नवीकरण गर्न आग्रह गरेको छ ।
























