नेपाल सरकारले खाडी क्षेत्रसहित मध्यपूर्वका १२ देशमा वैदेशिक रोजगारीका लागि दिँदै आएको श्रम स्वीकृति तत्कालका लागि स्थगित गरेको छ। क्षेत्रीय अवस्थालाई ध्यानमा राख्दै नेपाली कामदारको सुरक्षा सुनिश्चित गर्न यस्तो निर्णय गरिएको जनाइएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले जारी गरेको निर्देशनअनुसार व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका श्रम स्वीकृति अर्को निर्णय नभएसम्मका लागि रोकिनेछ। मन्त्रालयले मातहतका विभाग तथा कार्यालयहरूलाई सो निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ।
श्रम स्वीकृति अस्थायी रूपमा रोक लगाइएका देशहरूमा साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेवनान, टर्की र इजरायल रहेका छन्।
मन्त्रालयले हाल विकसित विषम परिस्थितिमा नेपाली कामदारको हित र सुरक्षालाई केन्द्रमा राखेर निर्णय गरिएको स्पष्ट पारेको छ। अवस्था सामान्य भएपछि पुनः समीक्षा गरी आवश्यक निर्णय गरिने जनाइएको छ।
















