कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो, ७ हजार २ सय जनाको कोटा

 दक्षिण कोरिया रोजगारीका लागि आवश्यक कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरिएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो।

नेपाल र दक्षिण कोरियाबीच भएको समझदारीअनुसार कोरियाले विभिन्न क्षेत्रमा गरी ७ हजार २ सय नेपाली कामदारका लागि आवेदन माग गरेको छ।

मागअनुसार उत्पादनमूलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ सय र वन क्षेत्रमा १ सय जनाका लागि कोटा निर्धारण गरिएको छ।

ईपीएस कोरिया शाखाका अनुसार इच्छुक नेपाली नागरिकले २०२६ जुलाई २७ देखि अगस्ट २ तारिखसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

आवेदन दिन १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ। त्यस्तै, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, दक्षिण कोरियामा गैरकानुनी रूपमा बसेर फिर्ता नभएको तथा नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको व्यक्ति मात्र आवेदनका लागि योग्य हुनेछन्।

यसैगरी, दक्षिण कोरियामा ई–९ वा ई–१० भिसामा पाँच वर्ष वा सोभन्दा बढी समय नबसेको हुनुपर्नेछ।

पहिलो चरणको भाषा परीक्षाको नतिजा सार्वजनिक भएपछि अर्को चरणको परीक्षा सञ्चालन गरिनेछ। परीक्षामा सहभागी हुन २८ अमेरिकी डलर शुल्क तिर्नुपर्नेछ।

अन्तिम परीक्षामा उत्तीर्ण उम्मेदवारको नतिजाको वैधता नतिजा प्रकाशन भएको मितिले दुई वर्षसम्म कायम रहने ईपीएस कोरिया शाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.