राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद तथा पार्टीका जिम्मेवार पदाधिकारीलाई कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रमा जाँदा पार्टीको स्थानीय संयन्त्रसँग अनिवार्य रूपमा समन्वय गर्न निर्देशन दिएको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यले मंगलबार पाँचबुँदे निर्देशन जारी गर्दै सङ्घीय संसद् र स्थानीय तहका नागरिकबीचको संवादलाई थप प्रभावकारी बनाउन यस्तो व्यवस्था आवश्यक रहेको बताएका छन्।
रास्वपाले सांसदहरूलाई निर्वाचन क्षेत्र तथा जिल्लामा हुने भ्रमणलाई केवल औपचारिक कार्यक्रम वा व्यक्तिगत जनसम्पर्कमा सीमित नगरी पार्टीको राजनीतिक दृष्टिकोण विस्तार गर्ने, सङ्गठनलाई सक्रिय बनाउने र जनताका सुझाव तथा अपेक्षालाई संसद्को एजेन्डासँग जोड्ने अभियानका रूपमा अघि बढाउन भनेको छ।
पार्टीले सांसदको प्रभावकारी भूमिका र सङ्गठनको चुस्तता एकअर्काका पूरक रहेको जनाएको छ। स्थानीय पार्टी संरचनासँग समन्वय र सहकार्य गर्दै अघि बढ्दा मात्र पार्टीको संस्थागत क्षमता बलियो हुने तथा जनताप्रतिको जवाफदेहिता थप प्रभावकारी बन्ने रास्वपाको भनाइ छ।
रास्वपाले सुशासन, जवाफदेहिता र नागरिक केन्द्रित राजनीतिको मूल मर्मलाई व्यवहारमा उतार्न सांसद र पार्टी सङ्गठनबीचको समन्वयलाई प्राथमिकतामा राखेको जनाएको छ।

























