१७ फागुन । खाडी मुलुकका विभिन्न अन्तर्राष्ट्रिय विमानस्थलहरूले हवाई उडानमा अस्थायी प्रतिबन्ध लगाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज सञ्चालन हुने सबै सम्बन्धित अन्तर्राष्ट्रिय उडानहरू रद्द भएका छन्।
विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार सारजहा, दोहा, दुबई, कुबेत सिटी, अबुधाबी, कतार र दमाम गन्तव्यमा उडान रोकिएपछि नेपालबाट ती स्थानका लागि तय गरिएका दिउँसो र रातिका सबै उडान स्थगित गरिएको हो। सम्बन्धित देशका विमानस्थलहरूले नै उडानमा रोक लगाएकाले यहाँबाट पनि उडान सञ्चालन गर्न नसकिएको उहाँले जानकारी दिनुभयो।
“उडानहरू कहिलेदेखि पुनः सञ्चालन हुन्छन् भन्ने विषयमा हालसम्म स्पष्ट जानकारी आएको छैन,” महाप्रबन्धक सिटौलाले भन्नुभयो, “सम्बन्धित निकायबाट थप निर्णय आएपछि सार्वजनिक गरिनेछ।”
अचानक उडान रद्द भएपछि सयौँ यात्रु प्रभावित भएका छन्। विशेषगरी वैदेशिक रोजगारी, व्यवसाय तथा अन्य प्रयोजनका लागि खाडी मुलुक जान लागेका यात्रुहरू मर्कामा परेका छन्।
विमानस्थल कार्यालयले यात्रुहरूलाई उडानको सुनिश्चितता बिना विमानस्थल नआउन आग्रह गरेको छ। घरबाट निस्कनुअघि अनिवार्य रूपमा सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडानको अवस्था बुझ्न कार्यालयले अनुरोध गरेको छ।
























































