मध्यपूर्व क्षेत्रमा बढ्दो तनावबीच त्यहाँ बसोबास तथा रोजगारीमा रहेका नेपालीको अवस्थाबारे सरकारले विस्तृत तथ्यांक सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालय ले आइतबार पत्रकार सम्मेलन गर्दै हाल १७ लाख २९ हजार २८८ नेपाली वैधानिक रूपमा विभिन्न देशमा रहेको जानकारी दिएको हो।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै नेपाली संयुक्त अरब इमिरेट्स मा करिब सात लाख रहेका छन्। त्यसपछि साउदी अरब मा ३ लाख ८४ हजार ८६५, कतार मा ३ लाख ५७ हजार ९१३ र कुवेत मा १ लाख ७५ हजार नेपाली कार्यरत छन्।
तनावग्रस्त तथा आसपासका मुलुकहरूमा पनि उल्लेख्य नेपाली उपस्थिति रहेको मन्त्रालयले जनाएको छ। इराक मा ३० हजार, बहराइन मा २८ हजार, ओमान मा २५ हजार, साइप्रस मा १७ हजार, इजरायल मा करिब ६ हजार ५०० र लेबनान मा १ हजार ५०० नेपाली रहेका छन्।
यसैगरी इजिप्ट मा ५०० र इरान मा १० जना नेपाली रहेकोमा इरानबाट ४ जना फर्किने क्रममा रहेको र ६ जना त्यहीँ सुरक्षित रहेको जानकारी दिइएको छ।
मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक वैधानिक रूपमा दूतावासमा दर्ता भएका नेपालीको मात्र भएको स्पष्ट पार्दै अवैध रूपमा गएकाहरूको संख्या समावेश नभएको जनाएको छ।
नेपालीहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सरकारले आपतकालीन उद्धारका लागि पूर्वतयारी सुरु गरिसकेको जनाएको छ। मुख्यसचिवको निर्देशनमा परराष्ट्र सचिवको संयोजकत्वमा ‘मल्टी स्टेकहोल्डर इमर्जेन्सी रेस्क्यु टिम’ गठन गरिएको छ। साथै, मध्यपूर्वस्थित ८ नेपाली दूतावास र २ वाणिज्य दूतावासबीच २४सै घण्टा सूचना आदानप्रदानका लागि छुट्टै ह्वाट्सएप समूह सञ्चालनमा ल्याइएको छ।
आकस्मिक उद्धार आवश्यक परेमा सहज बनाउन कन्सुलर सेवा विभागमार्फत अनलाइन रजिस्ट्रेसन प्रणाली र मोबाइल एप तयार पारिँदैछ, जुन केही दिनभित्र सबै दूतावासको वेबसाइटमा उपलब्ध गराइने जनाइएको छ। हटलाइन सेवा सञ्चालन गर्ने तयारीसमेत भइरहेको मन्त्रालयले जनाएको छ।
उता, क्षेत्रीय तनावका कारण हवाई उडान प्रभावित हुँदा ट्रान्जिटमा रोकिएका वा गन्तव्यमा पुग्न नसकेका नेपालीहरूको व्यवस्थापनका लागि पर्यटन मन्त्रालय, एयरलाइन्स र वैदेशिक रोजगार व्यवसायीसँग समन्वय भइरहेको छ। जोखिमपूर्ण देशतर्फ तत्कालका लागि श्रम स्वीकृति र एनओसी रोक्ने विषयमा पनि सरकारले छलफल अघि बढाएको छ।
अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको आक्रमण र त्यसको जवाफस्वरूप इरानको प्रत्याक्रमणपछि मध्यपूर्वको अवस्था थप संवेदनशील बनेको छ।


































