आज पहाडी र हिमाली जिल्लामा होली पर्व मनाइदै, भिडभाड नगर्न निर्वाचन आयोगको आग्रह

आज देशका हिमाली तथा पहाडी जिल्लाहरूमा फागुपूर्णिमा अर्थात् होली पर्व उल्लासपूर्वक मनाइँदैछ। प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व वसन्त ऋतुको आगमनसँगै आपसी सद्भाव, मेलमिलाप र भाइचाराको सन्देश लिएर आउने प्राचीन सांस्कृतिक परम्परा हो।

विगतका वर्षहरूमा काठमाडौँ उपत्यका लगायत शहरी क्षेत्रमा देखिने उच्छृङ्खल गतिविधि यसपालि न्यून देखिएको छ। सुरक्षा निकायको सक्रियता र सचेतनाका कारण इच्छाविपरीत रङ दल्ने तथा लोला हान्ने जस्ता गतिविधि लगभग अन्त्य भएका छन्। फागुपर्वको अघिल्लो दिन सडकमा फोहोर पानी छ्याप्ने प्रवृत्ति पनि यस वर्ष देखिएको छैन।

काठमाडौँको वसन्तपुर दरबार क्षेत्र मा परम्पराअनुसार गाडिएको ‘चिर’ आज विधिपूर्वक ढालेर बाजागाजासहित टुँडिखेल मा लगेर दहन गरिने कार्यक्रम रहेको छ। चिरमा राखिएका ध्वजापताका औषधीय गुणयुक्त हुने विश्वास गरिन्छ भने यसको खरानी टीका लगाउँदा अनिष्ट टर्छ भन्ने जनविश्वास छ।

तराई–मधेस क्षेत्रमा भने होली भोलिपल्ट मनाउने परम्परा रहिआएको छ। यसैबीच निर्वाचन आयोग ले प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै भीडभाड नगरी मर्यादित रूपमा पर्व मनाउन आग्रह गरेको छ। यस वर्ष कन्सर्ट तथा साङ्गीतिक कार्यक्रमका लागि अनुमति नदिइएको जनाइएको छ।

प्रहरी प्रशासनले विभिन्न चोक–चोकमा सुरक्षा व्यवस्था कडा बनाएको छ र नागरिकलाई संयमित रूपमा पर्व मनाउन आह्वान गरेको छ।

होली नेपालसँगै भारत लगायत विभिन्न देशहरूमा फरक–फरक नाम र परम्परामा मनाइन्छ। इटाली, चीन, संयुक्त राज्य अमेरिका, श्रीलङ्का, इन्डोनेसिया, म्यान्मार, थाइल्यान्ड, जापान तथा इजिप्ट मा पनि विभिन्न सांस्कृतिक रूपान्तरणसहित समान प्रकृतिका उत्सव मनाइन्छन्। नाम र शैली फरक भए पनि यी पर्वहरूको मूल उद्देश्य सामाजिक एकता, सद्भाव र उत्साह अभिवृद्धि गर्नु नै हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.