मर्मतपछि सञ्चालनमा आयो भीमफेदीको चिसापानी पुल, काठमाडौं वैकल्पिक मार्ग सहज

हेटौंडा । काठमाडौं प्रवेश गर्ने छोटो दूरीको वैकल्पिक मार्ग अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी पुल मर्मत सम्पन्न भएपछि आइतबारदेखि पुनः सञ्चालनमा आएको छ।

हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल–सिस्नेरी हुँदै काठमाडौं जोड्ने मार्गमा रहेको जीर्ण फलामे पुलको मर्मत कार्य सम्पन्न भएसँगै सवारीसाधन आवतजावत पुनः सुचारु भएको हो।

वागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका प्रमुख नवीन सिंहका अनुसार असार २७ गतेदेखि सुरु गरिएको मर्मत कार्य एक सातामै सम्पन्न गरिएको हो। मर्मत अवधिभर सवारीसाधनलाई खोलामा निर्माण गरिएको डाइभर्सनमार्फत सञ्चालन गरिएको थियो।

मर्मतका क्रममा भैंसे–भीमफेदी सडकखण्डमा प्रयोगविहीन अवस्थामा रहेको फलामे ट्रस पुलका संरचना झिकेर चिसापानी पुलमा जडान गरिएको निर्देशनालयले जनाएको छ। करिब ४० वर्षअघि निर्माण भएको पुलका काठ मक्किनुका साथै फलामका पाता उप्किएपछि सवारी आवागमन जोखिमपूर्ण बनेको थियो।

३ मिटर चौडा र ४० मिटर लामो उक्त पुलबाट दैनिक दुई हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने भएकाले यसको मर्मतसँगै हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग प्रयोग गर्ने यात्रु तथा सवारी चालकलाई उल्लेखनीय राहत पुगेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.