लबशेर विष्ट ले मकवानपुर क्षेत्र नम्बर–२ को समग्र विकासलाई केन्द्रमा राख्दै विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका उनले हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत आफ्नो योजना सार्वजनिक गरेका हुन्।
उनले भौतिक पूर्वाधार, कृषि, पर्यटन, खेलकुद, स्वास्थ्य, शिक्षा तथा सामाजिक न्यायलाई प्राथमिकतामा राख्दै क्षेत्रको दीर्घकालीन विकासका लागि स्पष्ट खाका प्रस्तुत गरेका छन्।
पूर्वाधारतर्फ चित्लाङ–चन्द्रगिरी सुरुङमार्ग निर्माणमा पहल गर्ने, आवश्यक स्थानमा पुल तथा सार्वजनिक भवन निर्माण गर्ने र क्षेत्रीय सडक सञ्जाललाई स्तरोन्नति गरी राष्ट्रिय राजमार्गसँग जोड्ने योजना अघि सारिएको छ।
पर्यटनलाई आर्थिक उन्नतिको आधार मान्दै महत्वपूर्ण पर्यटकीय स्थलहरूको संरक्षण र प्रवर्द्धनसँगै नयाँ गन्तव्यहरूको पहिचान गरिने उनले बताए। खेलकुद विकासका लागि आवश्यक पूर्वाधार निर्माण, खेलाडी उत्पादन तथा राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण तयार गरिने उल्लेख छ।
कृषिलाई आर्थिक समृद्धिको मुख्य आधार बनाउने लक्ष्यसहित खेतीयोग्य जमिनमा पूर्ण सिँचाइ सुविधा, कृषि आधुनिकीकरण र भौगोलिक विशेषताअनुसार उत्पादन क्षेत्र विकासमा जोड दिइने प्रतिबद्धता जनाइएको छ। किसानलाई समयमै बीउ र मल उपलब्ध गराउने व्यवस्था मिलाइने पनि उनले बताएका छन्।
स्वास्थ्य क्षेत्रमा अस्पतालहरूमा आवश्यक जनशक्ति, विशेषगरी डाक्टर र प्राविधिक व्यवस्थापनलाई प्राथमिकता दिइने योजना छ। साथै गाँजालाई कानुनी संशोधनमार्फत आयआर्जनको स्रोतका रूपमा विकास गर्ने र भूमिहीन तथा सुकुम्बासीलाई लालपुर्जा वितरणका लागि कानुनी सुधारमा भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
नदी तटीय बस्ती संरक्षण, झोरा नियन्त्रण, सुरक्षित मानव बस्ती विकास, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा पीडित कृषकलाई न्यायोचित क्षतिपूर्ति वितरणमा समेत पहल गरिने उनले बताए।
पार्टीका प्रचार प्रसार समितिले विष्टका यी योजनाले मकवानपुर–२ लाई समृद्ध र व्यवस्थित क्षेत्रका रूपमा विकास गर्ने दीर्घकालीन आधार तयार पार्ने विश्वास व्यक्त गरेको छ।
























































