हेटौंडा, जेठ १७ — मकवानपुरको इन्द्रसरोवर गाउँपालिका क्षेत्रमा सडक स्तरोन्नति तथा ढलानको काम सुरु भएसँगै केही सडकखण्डमा सवारी आवागमन प्रभावित हुने भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार इन्द्रसरोवर गाउँपालिका–२ र ४ स्थित महालक्ष्मी खोलामा पर्ने कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौं सडकखण्डमा जेठ १५ गतेदेखि करिब १०० मिटर सडक ढलानको काम सुरु गरिएको छ। निर्माण कार्य सम्पन्न नभएसम्म करिब एक महिनासम्म उक्त सडकखण्डमा आवागमनमा असुविधा हुने जनाइएको छ।
यस अवधिमा काठमाडौं आवतजावत गर्ने सवारी साधनलाई वैकल्पिक मार्गका रूपमा कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।
यस्तै, जेठ १७ गतेदेखि २९ गतेसम्म थानकोट–चित्लाङ सडकखण्डमा निर्माण तथा सुधारको काम सञ्चालन भइरहेका कारण पानीघट्टदेखि चित्लाङ बजारसम्मको सडक पूर्ण रूपमा बन्द गरिएको छ।
प्रहरीले उक्त मार्ग प्रयोग गर्ने सवारी साधनलाई भैंसे–पालुङ–नौबिसे हुँदै त्रिभुवन राजपथ प्रयोग गर्न अनुरोध गरेको छ।
निर्माण कार्यका क्रममा यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गरी यात्रा व्यवस्थापन गर्न र सडकमा खटिएका सुरक्षाकर्मीको निर्देशन पालना गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले आग्रह गरेको छ।















