मकवानपुरमा पुलबाट टेलर खस्दा चालकको मृत्यु, सहचालक सकुशल

हेटौंडा — मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित कान्तिलोकपथमा आइतबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बागमती हाइड्रोपावरका लागि फलामका पाइप बोकेको टेलर बागमती पुलबाट खोलामा खस्दा चालकको ज्यान गएको हो।

प्रहरीका अनुसार हेटौंडाबाट बगुवातर्फ जाँदै गरेको ना ६ ख ४०४२ नम्बरको टेलर साँझ करिब ६:२० बजे अनियन्त्रित भई पुलबाट तल बागमती खोलामा खसेको थियो। प्रारम्भिक अनुसन्धानमा पाइप बाँधिएको टुचिन (बाँध्ने सामग्री) चुडिएपछि गाडी नियन्त्रण बाहिर गएको खुलेको छ।

दुर्घटनापछि चालक हेटौंडा उपमहानगरपालिका–३ निवासी करिब ३० वर्षीय दलबहादुर बर्तौला बेपत्ता भएका थिए। सहचालक राक्सिराङ गाउँपालिका–९ का १७ वर्षीय प्रशन्न प्रजा भने सुरक्षित रहेका छन्।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। साथै, नेपाली सेनाको फास्ट ट्र्याक सुरक्षा बेसबाट खटिएको उद्धार टोलीले खोज तथा उद्धार कार्य सञ्चालन गरेको थियो।

उद्धारका क्रममा राति करिब ८:२० बजे क्रेन प्रयोग गरी टेलरलाई खोलाबाट बाहिर निकालिएको थियो। त्यसक्रममा चालक बर्तौला गाडीको स्टेयरिङमै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.