प्रतिनिधिसभा सदस्यको आमनिर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन निर्वाचन आयोग ले बैंक तथा वित्तीय सेवाको आवश्यक प्रबन्ध मिलाएको जनाएको छ।
फागुन २१ गते हुने निर्वाचनलाई ध्यानमा राख्दै सरकारले तीन दिन सार्वजनिक बिदा दिएको भए पनि वित्तीय कारोबार प्रभावित नहोस् भनेर विशेष व्यवस्था गरिएको आयोगले स्पष्ट पारेको छ।
महालेखा नियन्त्रक कार्यालय मार्फत राजस्व दाखिला तथा निर्वाचनसम्बन्धी भुक्तानी निकासा कार्य सञ्चालन गरिएको जनाइएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयहरूबाट निर्वाचनसँग सम्बन्धित खर्च भुक्तानी र राजस्व सङ्कलन सेवा निरन्तर रूपमा उपलब्ध गराइने व्यवस्था मिलाइएको छ।
यसैगरी, नेपाल राष्ट्र बैंक ले सरकारी कारोबार गर्ने एजेन्सी बैंक तथा राजनीतिक दल र उम्मेदवारका निर्वाचन प्रचारप्रसार खातासम्बन्धी कारोबार नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ। रकम दाखिला, भुक्तानी तथा अन्य आवश्यक वित्तीय सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदानको दिन भने देशभर बैंक तथा वित्तीय सेवा बन्द रहनेछ। मतदान सम्पन्न भएसँगै भोलिपल्ट फागुन २२ गतेदेखि सेवा पुनः नियमित रूपमा सञ्चालन हुनेछ।























































