मध्यपूर्वमा जारी द्वन्द्वका कारण नियमित उडान प्रभावित भएपछि खाडी मुलुकमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउन सरकारले विशेष उडान सञ्चालन गर्ने निर्णय गरेको छ।
परराष्ट्र मन्त्रालय का अनुसार, नेपाल एयरलाईन्स मार्फत आजदेखि लगातार तीन दिन चारवटा उडान सञ्चालन गरिनेछ।
आज बेलुका काठमाडौँबाट दुबईतर्फ पहिलो उडान हुने तय भएको छ। यस उडानमा पहिले नै टिकट बुक गरिसकेका यात्रुसँगै तत्काल फर्कन चाहने नेपालीलाई पनि सम्पर्कमा आउन आग्रह गरिएको छ।
त्यसैगरी, भोलि दुबईबाट काठमाडौँ फर्किने तालिका रहेको छ भने पर्सि काठमाडौँबाट साउदी अरेबियाको दमामसम्म उडान भई सोही दिन फिर्ता हुने व्यवस्था गरिएको छ।
मध्यपूर्वका विभिन्न देशमा रहेका नेपाली दूतावासहरूले कति नागरिक फर्कन इच्छुक छन् र कसरी सुरक्षित रूपमा फर्काउने भन्नेबारे समन्वय गरिरहेका छन्।
युद्धका कारण नियमित हवाई सेवा प्रभावित हुँदा हजारौँ नेपाली कामदार स्वदेश फर्कन नपाएर अलपत्र परेको अवस्थालाई मध्यनजर गर्दै सरकारले यो पहल अघि बढाएको हो।























































