नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य र आफ्नो नाफा–घाटासम्बन्धी सामाजिक सञ्जालमा फैलिएका भ्रामक सूचनाप्रति गम्भीर चासो व्यक्त गरेको छ। सोमबार जारी विज्ञप्तिमा निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य तीव्र रूपमा बढेका कारण आफूहरूले प्रत्येक १५ दिनमा करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा बेहोरिरहेको जनाएको छ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट चैत १७ गते प्राप्त पछिल्लो दररेटले इन्धन खरिद लागत अत्यधिक बढेको देखाएको छ। तर, आन्तरिक बजारमा मूल्य सोहीअनुसार समायोजन गर्न नसक्दा ठूलो आर्थिक दबाब परेको बताइएको छ।
तथ्यांकअनुसार हाल सबैभन्दा बढी घाटा एलपी ग्यास र डिजेलमा देखिएको छ। ग्यासमा प्रतिसिलिन्डर ३ सय ३१ रुपैयाँ २५ पैसा र डिजेलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा घाटा भइरहेको निगमको भनाइ छ। यस्तै, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा, मट्टितेलमा ३६ रुपैयाँ ७० पैसा र आन्तरिक हवाई इन्धनमा ९२ पैसा घाटा रहेको छ।
खरिद लागत र बिक्री मूल्यबीच ठूलो अन्तर देखिन्छ। उदाहरणका लागि, पेट्रोलको खरिद मूल्य प्रतिलिटर २ सय २१ रुपैयाँ ३२ पैसा भए पनि बिक्री मूल्य २ सय १९ रुपैयाँ मात्र छ। डिजेलको लागत २ सय ९४ रुपैयाँ ९९ पैसा पर्दा पनि २ सय ७ रुपैयाँमै बिक्री भइरहेको छ। त्यस्तै, एलपी ग्यासको एक सिलिन्डरको लागत २ हजार ३ सय ४१ रुपैयाँ २५ पैसा भए पनि उपभोक्ताले २ हजार १० रुपैयाँमा पाइरहेका छन्।
यस्तो प्रतिकूल आर्थिक अवस्थाबीच पनि आपूर्ति व्यवस्थापन सहज बनाइराखिएको निगमले दाबी गरेको छ। साथै, अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेमा नेपालमा पनि सोहीअनुसार मूल्य समायोजन गर्ने प्रतिबद्धता दोहोर्याइएको छ।
निगमले आम उपभोक्तालाई सामाजिक सञ्जालमा फैलिएका अफवाहको पछि नलाग्न र वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिलाई बुझ्न आग्रह गरेको छ।

















