हेटौँडामा सम्पन्न नारायणी पेट्रोलियम विक्रेता सङ्घको १४औँ वार्षिक साधारण सभा तथा अधिवेशनले उत्सव इटेनीलाई पुनः अध्यक्षमा निर्विरोध चयन गरेको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ठाकुर भट्टराई, उपाध्यक्षमा दीपेन्द्र बर्तौला, सचिवमा विष्णुहरि पण्डित, सहसचिवमा उत्तम खड्का तथा कोषाध्यक्षमा रामजी कोइराला निर्वाचित भएका छन्।
त्यसैगरी कार्यसमिति सदस्यमा रामेश्वर श्रेष्ठ, अभिषेक बर्तौला, राजु बिडारी र मनोजकुमार शाह चयन हुँदा किशोर शर्मा कंडेल पदेन सदस्य रहनेछन्।
अधिवेशनकै अवसरमा मकवानपुरका पत्रकार राममणि दाहाल र प्रताप विष्टलाई पत्रकारिता क्षेत्रमार्फत जिल्लाको आर्थिक तथा सामाजिक विकासमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ। दाहाललाई ‘राजन थापा स्मृति पत्रकारिता पुरस्कार’ र विष्टलाई ‘बलराम दास स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो। दुवै पत्रकारलाई नगद ११ हजार १११ रुपैयाँसहित सम्मान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान ले पेट्रोलियम व्यवसाय अत्यावश्यक सेवा भएकाले पेट्रोल पम्प २४सै घण्टा सञ्चालन हुने व्यवस्थाअनुसार निगमका डिपोहरू पनि नियमित रूपमा सञ्चालन हुनुपर्ने धारणा राख्नुभयो।
नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख अशोक शाह ले चुनौतीपूर्ण परिस्थितिका बीच पनि पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन प्रभावकारी रूपमा भइरहेको बताउनुभयो। कार्यक्रममा पेट्रोलियम व्यवसायमा पारदर्शिता, सूचना प्रवाह र लगानीअनुसारको प्रतिफल सुनिश्चित गर्नुपर्ने विषयमा समेत जोड दिइएको थियो।
अध्यक्ष उत्सव इटेनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न व्यवसायिक तथा पेट्रोलियम क्षेत्रका प्रतिनिधिहरूले व्यवसायको वर्तमान अवस्था र सुधारका उपायबारे धारणा व्यक्त गरेका थिए।















