कान्सास सिटी । अर्जेन्टिनाका कप्तान Lionel Messi ले फिफा विश्वकप २०२६ मा अल्जेरियाविरुद्ध मैदान उत्रँदै दुई महत्वपूर्ण कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।
मेस्सी विश्वकप इतिहासमा ६ वटा संस्करण खेल्ने पहिलो खेलाडी बनेका छन्। यसअघि उनले सन् २००६, २०१०, २०१४, २०१८ र २०२२ को विश्वकपमा सहभागिता जनाइसकेका थिए। २०२६ संस्करणमा मैदान उत्रिएसँगै उनले विश्व फुटबलमा नयाँ इतिहास रचेका हुन्।
साथै, अल्जेरियाविरुद्धको खेल मेस्सीको अर्जेन्टिनाका लागि २००औँ अन्तर्राष्ट्रिय खेलसमेत बनेको छ। उनी अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि २०० खेल पूरा गर्ने पहिलो खेलाडी हुन्।
विश्वकपमा सर्वाधिक २६ खेल खेल्ने कीर्तिमान यसअघि नै आफ्नो नाममा राखिसकेका मेस्सीले अल्जेरियाविरुद्ध मैदान उत्रिएसँगै उक्त संख्या २७ पुर्याएका छन्।
पछिल्लो समय ह्यामस्ट्रिङ समस्याका कारण केही खेल गुमाएका मेस्सीले विश्वकपलाई प्राथमिकतामा राख्दै फिटनेसमा विशेष ध्यान दिएका थिए। उनले आफ्नो ऐतिहासिक खेललाई अझ विशेष बनाउँदै खेलको १७औँ मिनेटमा गोल समेत गरे। उक्त गोलमार्फत अर्जेन्टिनाले सुरुआती अग्रता लिएको थियो।
विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने मेस्सीले लगातार कीर्तिमान थपिरहँदा उनको नाम विश्वकप इतिहासमा अझ मजबुत रूपमा स्थापित भएको छ।
























