तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३ आजदेखि सुरु

हेटौंडा । बागमती प्रदेशका खेलाडीहरूको सबैभन्दा ठूलो प्रादेशिक खेल महोत्सवका रूपमा रहेको तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३ आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ।

प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हेटौंडा उपमहानगरपालिका–६ स्थित गौरीटारको केन्द्रीय खेलकुद प्रतिष्ठानमा प्रतियोगिताको उद्घाटन कार्यक्रम तय गरिएको छ। प्रारम्भिक कार्यतालिकाअनुसार जेठ २४ गतेबाट सुरु गर्ने योजना रहे पनि तयारी अपुग भएकाले प्रतियोगितालाई असारको पहिलो सातासम्म सारिएको थियो।

प्रतियोगितामा बागमती प्रदेशका सबै १३ जिल्लाका खेलाडी, प्रशिक्षक, निर्णायक र व्यवस्थापकहरूको सहभागिता रहनेछ। परिषद्का अनुसार २ हजार ९ सय ५५ खेलाडी र १ हजार २ सय ६ अफिसियल गरी कुल ४ हजार १ सय ६१ जना प्रतियोगितामा सहभागी हुनेछन्।

प्रतियोगिताका लागि प्रदेश सरकारले १३ करोड २० लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको छ। प्रतियोगितालाई आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, नयाँ खेल प्रतिभाको पहिचान तथा प्रदेशस्तरीय खेल विकासको महत्वपूर्ण आधारका रूपमा लिइएको छ।

यद्यपि केही खेल पूर्वाधार निर्माण कार्य अझै सम्पन्न भइनसकेको अवस्थामा उपलब्ध संरचना र स्रोत–साधनको अधिकतम उपयोग गर्दै प्रतियोगिता सञ्चालन गरिने परिषद्ले जनाएको छ।

प्रतियोगितामा १५ वटा खेल विधा समावेश गरिएका छन्। फुटबल, पुरुष क्रिकेट, बक्सिङ, तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन, आइटिएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराँते, बुद्धिचाल तथा टेबलटेनिसका प्रतिस्पर्धा हेटौंडामा हुनेछन्।

त्यस्तै महिला क्रिकेट र कराँतेका खेल चितवनमा आयोजना गरिनेछन् भने भलिबल, पौडी, उसु र जुडोका प्रतिस्पर्धा काठमाडौं र ललितपुरमा सञ्चालन हुनेछन्।

प्रदेशभरका खेलाडीलाई एउटै प्रतिस्पर्धात्मक मञ्चमा ल्याउने उद्देश्यसहित सुरु हुन लागेको प्रतियोगिताले बागमती प्रदेशको खेल क्षेत्रलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.