कैलाश पूर्ण खोप सुनिश्चितता पालिका घोषित

मकवानपुर । चेपाङ तथा तामाङ समुदायको बाहुल्यता रहेको मकवानपुरको विकट कैलाश गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना गाउँपालिका घोषणा गरिएको छ।

मंगलबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा कैलाश गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको हो।

घोषणा कार्यक्रममा बोल्दै संयोजक घलानले खोप बालबालिकाको जीवन रक्षा गर्ने सबैभन्दा प्रभावकारी, सुरक्षित र लागत–प्रभावकारी सार्वजनिक स्वास्थ्य सेवा भएको बताए। नियमित खोप कार्यक्रममार्फत बालबालिकालाई विभिन्न सरुवा रोगबाट जोगाउन सकिने उल्लेख गर्दै उनले पूर्ण खोप सुनिश्चितता कायम गर्नु प्रत्येक बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चित गर्नु भएको बताए।

उनले कैलाश गाउँपालिकाले लक्षित सबै बालबालिकालाई खोपको पहुँचमा ल्याई छुटेका बालबालिकाको खोज, व्यवस्थापन, नियमित अनुगमन तथा अभिलेखीकरणलाई प्रभावकारी बनाउँदै महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए। यो स्वास्थ्य क्षेत्रको मात्र नभई समग्र समुदायको साझा सफलता भएको उनको भनाइ थियो।

गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले नियमित खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै सबै लक्षित बालबालिकालाई पूर्ण खोपको पहुँचमा पुर्‍याउन सफल भएको बताए। उनले यस उपलब्धिमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, अभिभावक तथा समुदायको सक्रिय सहयोग रहेको उल्लेख गरे।

अध्यक्ष मुक्तानले पूर्ण खोप सुनिश्चितता घोषणा उपलब्धिको अन्तिम बिन्दु नभई थप जिम्मेवारीको सुरुआत भएको बताउँदै भविष्यमा पनि कुनै बालबालिका खोप सेवाबाट वञ्चित नहुने सुनिश्चित गरिने बताए। उनले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक बजेट, स्रोतसाधन र जनशक्ति व्यवस्थापनमा निरन्तर ध्यान दिँदै आएको जानकारी दिए।

उनका अनुसार गाउँपालिकामा डाक्टरसहितको स्वास्थ्य सेवा सुरु भइसकेको छ भने पोषण सुधार कार्यक्रम पनि वडास्तरमा सञ्चालन भइरहेको छ। अब गाउँपालिकाको लक्ष्य ‘शून्य घरमै सुत्केरी’ अभियानलाई सफल बनाउनु रहेको उनले बताए।

स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमका अनुसार गाउँपालिकामा जन्मदेखि १५ महिनासम्मका ३०७ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। वडा नं. १ मा १५, वडा नं. २ मा २१, वडा नं. ३ मा ४५, वडा नं. ४ मा २९, वडा नं. ५ मा २९, वडा नं. ६ मा १७, वडा नं. ७ मा ४७, वडा नं. ८ मा ४५, वडा नं. ९ मा २४ र वडा नं. १० मा ३५ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत सीताकुमारी खत्री, जनस्वास्थ्य कार्यालय मकवानपुरका खोप फोकल पर्सन मनिर आलम, सामाजिक विकास समितिका संयोजक तथा वडा नं. २ का अध्यक्ष राजेन्द्र तामाङ घिसिङ, विभिन्न वडाका वडाध्यक्ष, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.