हेटौँडा । नारायणी यातायात व्यवसायी कम्पनी प्रालिले सवारी धनी, चालक तथा सहचालकको सामाजिक सुरक्षालाई लक्षित गर्दै ‘विशेष राहत कोष’ सञ्चालनमा ल्याएको छ। कम्पनीमा आबद्ध सवारीसाधनसँग सम्बन्धित व्यक्तिको कार्यक्षेत्रमै दुर्घटनाबाट मृत्यु भएमा आश्रित परिवारलाई ५ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइने व्यवस्था गरिएको हो।
कम्पनीका अध्यक्ष गोकर्णप्रसाद पराजुली का अनुसार यो रकम नेपाल सरकारको श्रमिक बीमा कार्यक्रमअन्तर्गत प्राप्त हुने राहतभन्दा अतिरिक्त सुविधा हो। “बीमाबाट प्राप्त हुने रकम यथावत् छ, त्यसबाहेक परिवारलाई थप राहत पुगोस् भन्ने उद्देश्यले कम्पनीले आफ्नै कोष स्थापना गरेको हो,” उहाँले बताउनुभयो।
राहत कोष सञ्चालनका लागि कम्पनीले कार्यविधि तयार गरी प्रत्येक सवारी धनीबाट वार्षिक १ हजार ५ सय रुपैयाँ संकलन गर्दै आएको छ। यही रकमबाट कोष निर्माण गरी दुर्घटनामा ज्यान गुमाउने चालक, सहचालक वा सवारी धनीका परिवारलाई आर्थिक सहयोग प्रदान गरिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
यस योजनाअन्तर्गत पहिलोपटक हेटौँडा–३ की २४ वर्षीया सर्मिला न्यौपाने ले राहत रकम प्राप्त गर्नुभएको छ। कम्पनीका पदाधिकारीहरूले बिहीबार उहाँलाई ५ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन्।
सर्मिलाका श्रीमान् ३० वर्षीय दलबहादुर बर्तौला गत जेठ १६ गते कान्तिराजपथअन्तर्गत बगुवा खोलानजिक भएको ट्रक दुर्घटनामा ज्यान गुमाएका थिए। हेटौँडाबाट ललितपुरतर्फ निर्माण सामग्री बोकेर जाँदै गरेको ट्रक खोलामा खसेर दुर्घटनाग्रस्त भएको थियो। केही घण्टापछि यान्त्रिक उपकरणको सहायताले ट्रक निकाल्दा चालक बर्तौलाको शव सवारीभित्रै फेला परेको थियो।
१८ महिनाअघि मात्रै विवाह गरेकी सर्मिलाले अहिले ८ महिनाको शिशु छोरा र ७३ वर्षीया सासुको जिम्मेवारी सम्हालिरहनुभएको छ। कम्पनीले प्रदान गरेको राहत रकमले परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।
हाल नारायणी यातायात व्यवसायी कम्पनीमा करिब २ हजार ४ सय ७५ सवारी धनी आबद्ध रहेका छन्। कम्पनीले आगामी दिनमा पनि सदस्यहरूको हित र सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
























