सातै प्रदेशमा ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने तयारी

महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्ने उद्देश्यसहित सरकारले सातै प्रदेशमा ‘ब्लु बस’ सेवा सञ्चालनको तयारी थालेको छ।

सरकारको १०० दिने कार्ययोजनाअन्तर्गत पहिलो चरणमा कम्तीमा २५ वटा ब्लु बस सञ्चालन गर्ने लक्ष्य राखिएको छ। यसमध्ये काठमाडौं उपत्यकामा साझा यातायातसँगको सहकार्यमा सात वटा बस सञ्चालन गर्ने र उपत्यकाबाहिरका प्रदेशमा थप १८ वटा बस सञ्चालन गर्ने तयारी भइरहेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सेवा सञ्चालनका लागि आवश्यक कार्यविधि, समय तालिका, लागत अनुमान र जिम्मेवारी निर्धारणसम्बन्धी प्रस्ताव साझा यातायातबाट प्राप्त भइसकेको छ। त्यसका आधारमा प्रशासनिक तथा प्राविधिक प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ।

सरकारले सार्वजनिक यातायातमा महिला तथा बालिकाको सुरक्षालाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षमा ब्लु बस सेवा थप विस्तार गर्ने योजना बनाएको छ। सेवा सञ्चालनमा आएपछि विद्यार्थी, श्रमिक, कर्मचारी तथा दैनिक रूपमा सार्वजनिक यातायात प्रयोग गर्ने महिलाले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ।

यसैबीच, सार्वजनिक सवारीलाई थप सुरक्षित बनाउन सिसीटिभी र ड्यासक्याम जडानलाई पनि तीव्रता दिइएको छ। हाल साझा यातायातका १११, महागर यातायातका ४६ र पाँचपोखरी सुनौलो यातायातका तीन बसमा यस्ता उपकरण जडान गरी सञ्चालनमा ल्याइसकिएको मन्त्रालयले जनाएको छ।

सरकारको विश्वास छ, ब्लु बस सेवा र प्रविधिमैत्री निगरानी प्रणालीले सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा, दुर्व्यवहार तथा असुरक्षाको अनुभूति कम गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.