असार ६ – हेटौँडा औद्योगिक क्षेत्रभित्र बक्यौता तिर्न बाँकी उद्योगहरूको विद्युत् लाइन काट्ने अभियान सुरु भएपछि हालसम्म करिब ४ करोड रुपैयाँ बक्यौता रकम सङ्कलन भएको छ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीका अनुसार बक्यौता नतिरेका उद्योगहरूको लाइन काट्न थालिएपछि उद्योगीहरूले रकम बुझाएर पुनः विद्युत् जडान गराउन थालेका छन्। सोही क्रममा उल्लेख्य रकम असुली भएको उनले बताए।
कार्यालयले हालसम्म करिब ६० उद्योगको विद्युत् लाइन काटिसकेको छ। बक्यौता रकम बुझाउने उद्योगहरूको लाइन पुनः जोड्ने काम पनि सँगसँगै भइरहेको जनाइएको छ।
सूचना अधिकारी भण्डारीले बक्यौता असुली अभियान अझै जारी रहने बताउँदै सार्वजनिक बिदाका कारण रोकिएको लाइन काट्ने कार्य सोमबारदेखि पुनः निरन्तरता दिइने जानकारी दिए।
हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित १३१ वटा साना तथा ठूला उद्योगबाट करिब १३ करोड रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको छ। कार्यालयले बक्यौता नतिर्ने सबै उद्योगको विद्युत् लाइन काट्ने चेतावनी दिएको छ।
























