हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र, सेना–प्रहरीद्वारा परिसर सरसफाइ सुरु

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको विषयले फेरि गति लिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रत्यक्ष चासो देखाएपछि उद्योग सञ्चालनको सम्भावना बलियो बनेको बताइएको छ।

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार प्रधानमन्त्री कार्यालयले उद्योग पुनः सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउन सक्रिय भूमिका निर्वाह गरिरहेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले समेत उद्योगको स्थलगत निरीक्षण गरिसकेकी छन्।

प्रधानमन्त्री कार्यालयका प्रतिनिधिहरूले हेटौँडा उपमहानगरपालिकासँग समेत उद्योग सञ्चालनमा स्थानीय तहले गर्न सक्ने सहयोगबारे छलफल गरेका छन्। नगर प्रमुख मीनाकुमारी लामाले आवश्यक परे उपमहानगरले समेत सहयोग गर्न तयार रहेको बताएकी छन्।

सरकारले आगामी आर्थिक वर्षभित्र उद्योग सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ। उद्योग मन्त्री यादवले संसद्मा जवाफ दिँदै रुग्ण उद्योगहरूमध्ये हेटौँडा कपडा उद्योगलाई प्राथमिकतामा राखिएको जानकारी दिएकी थिइन्।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार उद्योगका अधिकांश मेसिन र भवन अझै सञ्चालनयोग्य अवस्थामै छन्। सामान्य मर्मत र व्यवस्थापनपछि उद्योग पुनः सञ्चालन गर्न सकिने निष्कर्ष निकालिएको छ।

यसैबीच, दुई दशकभन्दा बढी समयपछि पहिलो पटक उद्योग परिसरमा व्यापक सरसफाइ अभियान सञ्चालन गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा परिसर सफा गर्ने काम गरिरहेका छन्।

२०५७ सालदेखि बन्द रहेको उद्योग पुनः सञ्चालनका लागि विगतमा पनि विभिन्न सरकारले प्रयास गरेका थिए। तर ती प्रयास घोषणामै सीमित भएका थिए। यसपटक भने प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष चासो र सरकारी सक्रियताले उद्योग सञ्चालन हुने अपेक्षा बढाएको छ।

स्थानीयवासी तथा सरोकारवालाले उद्योग पुनः सञ्चालन भए रोजगारी सिर्जना हुनुका साथै हेटौँडा र आसपासको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।-अनलाइनखबरबाट साभार ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.