हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा चौथो संस्करणको उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। गाउँपालिका–३ स्थित भवानी माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगितामा गाउँपालिकाभित्रका ९ वटा वडाले सहभागिता जनाएका छन्।
कैलाश खेलकुद विकास समितिका अध्यक्ष मोहन वाइवाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा उपाध्यक्ष बालकुमार मल्ल, विभिन्न वडाका अध्यक्षहरू, खेल पदाधिकारी तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो।
प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता वडा नम्बर ५ ले वडा नम्बर ९ लाई सोझो दुई सेटमा पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। वडा ५ ले २५–२१ र २५–१८ को सेटमा जित हात पारेको हो।
त्यसैगरी, वडा नम्बर ८ ले लगातार दुई खेल जित्दै प्रभावशाली प्रदर्शन गरेको छ। पहिलो खेलमा वडा ७ लाई २६–२४, २०–२५ र १५–११ को सेटमा हराएको वडा ८ ले दोस्रो खेलमा वडा १० लाई १९–२५, २५–२२ र १६–१४ को सेटमा पराजित गरेको छ।
लिगकम नकआउट प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेता टोलीले ७५ हजार रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
स्थानीय तहमा खेलकुद गतिविधि प्रवर्द्धन गर्ने, युवाबीच मित्रता र सहकार्यको भावना बढाउने तथा प्रतिस्पर्धात्मक खेल संस्कृतिको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
























