रोटर्याक्ट क्लव अफ मकवानपुरले विद्यार्थीलाई न्यानो कपडा सहयोग गर्ने लक्ष्यका साथ हेटौंडामा ‘चिया संगीत’ कार्यक्रम आयोजना गरेको छ। युवामाझ सक्रिय सामाजिक संस्थाले शुक्रबार हेटौंडास्थित एक चियालयमा सांगीतिक वातावरणबीच कार्यक्रम सम्पन्न गरेको हो।
‘चियासँग गीत, चिया संगीत’ भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा रोटर्याक्ट क्लव अफ मकवानपुरकै सदस्यसमेत रहेका गायक जोन सेन्चुरीले आकर्षक सांगीतिक प्रस्तुति दिएका थिए। उनले नयाँ पुस्ताले रुचाएका चर्चित गीतहरू गाएर उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।
कार्यक्रमबाट संकलित रकम विद्यार्थीका लागि न्यानो कपडा वितरणमा खर्च गरिने रोटर्याक्ट क्लव अफ मकवानपुरका अध्यक्ष अमितकुमार क्षेत्रीले जानकारी दिए। उनले रोटर्याक्ट शिक्षा, स्वास्थ्य, वातावरण तथा युवासँग सम्बन्धित विभिन्न सामाजिक कार्यमा निरन्तर क्रियाशील रहेको उल्लेख गरे।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै रोटर्याक्ट क्लव अफ मकवानपुरकी सचिव जमुना थापाले सामूहिक प्रयासकै कारण कार्यक्रम अर्थपूर्ण बनेको बताइन्।
कार्यक्रममा रोटरी क्लव अफ मकवानपुरका संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापति, पूर्व अध्यक्ष विजयलाल श्रेष्ठ, कविन सांगामी, रामेश्वर श्रेष्ठ, रोटर्याक्ट क्लव अफ मकवानपुरका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, पूर्व अध्यक्ष प्रदीपकुमार राई, राजन कटुवाल, श्रीजना लामिछाने लगायतको उपस्थिति रहेको थियो।




































