हेटौंडा । विश्व वातावरण दिवस–२०८३ को अवसरमा हेटौंडामा आयोजित सप्ताहव्यापी कार्यक्रम सम्मान, पुरस्कार वितरण तथा समापन समारोहसहित सम्पन्न भएको छ। “समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने नारासहित सञ्चालन गरिएको कार्यक्रम टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाले हेटौंडा उपमहानगरपालिकाको सहयोगमा आयोजना गरेको हो।
समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा पूर्व मुख्यमन्त्री डोरमणी पौडेल, वन तथा वातावरण मन्त्री भरतकुमार केसी लगायतको उपस्थिति रहेको थियो।
समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले वातावरण संरक्षणलाई व्यवहारमा उतार्न समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै जलवायु परिवर्तनका चुनौती सामना गर्न सरकार, स्थानीय तह र नागरिकबीच सहकार्य अझ बलियो बनाउनुपर्ने धारणा राखे। पूर्व मुख्यमन्त्री पौडेलले टोल विकास संस्थामार्फत समुदायमा आधारित विकास र वातावरण संरक्षण अभियानलाई अघि बढाइएको स्मरण गर्दै यस्ता संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए। वन तथा वातावरण मन्त्री केसीले प्राकृतिक स्रोत संरक्षण, प्लास्टिकजन्य प्रदूषण नियन्त्रण र हरियाली प्रवर्द्धन सबैको साझा दायित्व भएको उल्लेख गरे।
कार्यक्रममा सप्ताहभर सञ्चालन गरिएका वृक्षारोपण, सरसफाइ अभियान, प्लास्टिक न्यूनीकरण, फोहोर खोज चुनौती, विद्यालयस्तरीय प्रतियोगिता, वातावरणीय संवाद तथा सचेतनामूलक र्यालीलगायत गतिविधिको समीक्षा प्रस्तुत गरिएको थियो।
प्रताप विष्टसहित विभिन्न व्यक्ति र संस्था सम्मानित
वातावरण संरक्षण, सरसफाइ तथा सामुदायिक विकासमा योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई ‘वातावरण सम्मान–२०८३’ प्रदान गरिएको छ। वरिष्ठ पत्रकार तथा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टलाई खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको हो।
त्यसैगरी सिद्धिलाल श्रेष्ठ, उषादेवी माध्यमिक विद्यालय, पशुपति मन्दिर, कुशपाण्डे सरोवर त्रिवेणीधाम, शहीद स्मारक विकास समिति तथा रानी सामुदायिक वनलाई पनि वातावरण संरक्षण र हरियाली प्रवर्द्धनमा योगदान पुर्याएबापत सम्मान प्रदान गरिएको थियो।
वडा कार्यालयतर्फ हेटौंडा–१० उत्कृष्ट घोषित हुँदा उत्कृष्ट टोल विकास संस्था वडा समन्वय समितिको रूपमा हेटौंडा–११ सम्मानित भएको छ। हेटौंडा–११ वडा कार्यालयलाई वातावरणीय कार्यक्रम सञ्चालनमा विशेष योगदान पुर्याएबापत विशेष सम्मान प्रदान गरिएको थियो।
सर्प उद्धार तथा व्यवस्थापनमा योगदान पुर्याएबापत राजेश थापा र विश्वास कोइराला सम्मानित भएका छन्। यस्तै डिभिजन वन कार्यालय मकवानपुर, सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा–११, ज्ञानदिप टोल विकास संस्था, शान्तिचोक टोल विकास संस्था, सामुदायिक विकास तथा सचेतना नेपाल र पशुपति हेल्थ क्लब लगायत विभिन्न संस्था पनि सम्मानित भएका छन्।
विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आयोजित सचेतनामूलक र्याली प्रतियोगितामा विकास टोल विकास संस्था प्रथम, कालिकामाई टोल विकास संस्था द्वितीय तथा फारलाइन टोल विकास संस्था तृतीय भए।
खेर गएका वस्तुबाट सामग्री निर्माण प्रतियोगितामा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय प्रथम, नवोदय शिशु सदन द्वितीय तथा सिद्धार्थ माध्यमिक विद्यालय तृतीय बने। फोहोर खोज चुनौती प्रतियोगितामा कालिका टोल विकास समूह ‘ब’ प्रथम, विकास टोल विकास संस्था द्वितीय तथा मनकामना ‘क’ टोल विकास संस्था तृतीय भए।
कार्यक्रममा राजनीतिक दल, सरकारी तथा गैरसरकारी संस्था, शैक्षिक संस्था, सञ्चारकर्मी, स्वयंसेवक तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकका अनुसार सप्ताहव्यापी कार्यक्रमले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै समुदायस्तरमा वातावरणमैत्री अभ्यासलाई थप प्रोत्साहन गरेको छ।

















