केही दिनयता देशभर मौसम बदली भई हिमाली तथा पहाडी भेगका विभिन्न स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला दिनहरूमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बदली, वर्षा र हिमपातको अवस्था बनेको हो।
हिजो सिन्धुपाल्चोक, भक्तपुर, काठमाडौं, नुवाकोट, चितवन, स्याङ्जा र डोटीका केही क्षेत्रमा वर्षा भएको विभागले जनाएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हिमपातसमेत भएको छ।
विभागका अनुसार आज र भोलि पनि मौसममा पूर्ण सुधार नआउने सम्भावना छ। पश्चिमको तुलनामा पूर्वी भूभागमा बदलीको प्रभाव बढी रहने बताइएको छ। आज बिहान तराईका केही स्थानमा हुस्सु लागेको थियो।
आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
विभागले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।


































