२१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर जिल्ला मा खटिने २ हजार २ सय ४४ जना कर्मचारीलाई आज नियुक्तिपत्र वितरण गरिँदैछ। निर्वाचनको तयारीलाई तीव्र पार्दै जनशक्ति व्यवस्थापन अन्तिम चरणमा पुगेको हो।
यसअघि मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी ७ सय ५२ जनाले तालिममा सहभागी हुनुअघि नै नियुक्तिपत्र बुझिसकेका छन्। बाँकी सहायक स्तरका कर्मचारीलाई आज नियुक्तिपत्र प्रदान गरिने जानकारी बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडा का प्रमुख हरि प्रसाद ढकालले दिएका छन्।
जिल्लामा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्। कुल ३७४ मतदान केन्द्रमा स्वयंसेवकसहित ३ हजार ३६६ कर्मचारी परिचालन हुनेछन्। प्रत्येक मतदान केन्द्रमा निर्वाचन आयोगबाट ६ जना कर्मचारी र ३ जना स्वयंसेवक खटाइने व्यवस्था गरिएको छ।
क्षेत्र नम्बर १ मा ६२ मतदान स्थल र १७८ मतदान केन्द्र तथा क्षेत्र नम्बर २ मा १०५ मतदान स्थल र १९६ मतदान केन्द्र कायम छन्। यसबाहेक भीमफेदी कारागार मा एक मतदान केन्द्र र कर्मचारीका लागि हेटौंडामा अस्थायी मतदान केन्द्र रहने तयारी छ।
जिल्लामा कुल मतदाता संख्या ३ लाख १५ हजार ३३४ पुगेको छ। आवश्यक ५२ प्रकारका निर्वाचन सामग्रीमध्ये केही कार्यालयमा आइसकेका छन् भने बाँकी सामग्री निर्वाचन आयोगबाट आउने क्रममा रहेको जनाइएको छ।
निर्वाचनको संवेदनशीलता हेरी आवश्यकताअनुसार सुरक्षाकर्मी समेत परिचालन गरिने तयारी रहेको कार्यालयले जनाएको छ।


































