चितवनमा आयोजित ‘हामी आयौं’ परिवर्तन उद्घोष सभामा सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले किसानले उत्पादनको उचित मूल्य नपाउँदा दूध पोख्न र तरकारी फाल्न बाध्य हुनुपरेको बताएका छन्।
उनले सीमित बिचौलिया र केही नेताहरुको सिण्डिकेटका कारण बजारमा कृत्रिम अभाव र भ्रम सिर्जना हुने गरेको आरोप लगाए। किसानले बजार र मूल्य नपाउँदा उत्पादन नष्ट गर्नुपर्ने अवस्था आउनु दुःखद भएको उनको भनाइ थियो।
शाहले नेपालमै उत्पादन हुने सस्तो विद्युत् उपयोग गरेर सस्तो कोल्डस्टोर निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए। सिजनमा सस्तो हुने तरकारी भण्डारण गरेर अभावको समयमा समान मूल्यमा बिक्री गर्न सकिने उनको तर्क छ। यसो गर्न सके किसानले उचित मूल्य पाउने र उपभोक्ताले पनि सहुलियतमा खाद्य सामग्री किन्न सक्ने उनले बताए।
देशभरका समस्याहरू उस्तै प्रकृतिका रहेको उल्लेख गर्दै उनले कृषि र पर्यटन क्षेत्रका चुनौती समाधानका लागि स्थानीय स्रोत र सम्भावनाको अधिकतम उपयोग गर्नुपर्ने धारणा राखे। “एउटा जिल्लाको समस्या अर्को जिल्लाको अनुभवबाट समाधान हुन सक्छ, त्यसलाई बुझेर समाधान गर्ने पार्टी बन्न चाहन्छ रास्वपा,” उनले भने।
औद्योगिक अवस्थाबारे टिप्पणी गर्दै शाहले मुलुकलाई मेसिन, जनशक्ति र स्रोत हुँदाहुँदै पनि सञ्चालनमा नआएको कारखानासँग तुलना गरे। उद्योग–कलकारखानालाई पूर्ण क्षमतामा सञ्चालन गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नुपर्नेमा उनले जोड दिए।
रास्वपाले देशभर उद्योग सञ्चालन र उत्पादन विस्तार गरी नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्यसहित अघि बढ्न चाहेको उनले स्पष्ट पारे।


































