आगामी निर्वाचन अवधिलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान विभाग ले फागुन २० गतेदेखि २२ गतेसम्म मौसम सामान्यतया अनुकूल रहने जनाएको छ। विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको ‘चुनाव विशेष मौसमी बुलेटिन’ अनुसार उक्त अवधिमा उल्लेखनीय मौसम प्रणाली सक्रिय नहुने देखिएको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तीमध्ये हिमाली भेगका एक–दुई स्थानमा फाट्टफुट्ट वर्षा वा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ। तर मधेस प्रदेशमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ।
त्यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा बादल लागे पनि वर्षा वा हिमपातको सम्भावना न्यून रहेको बुलेटिनमा उल्लेख छ। सबै प्रदेशका तराई क्षेत्रमा भने मौसम सफा रहने विभागले जनाएको छ।
निर्वाचन अवधिमा ठूलो वर्षा वा प्रतिकूल मौसमको संकेत नदेखिएकाले मतदान कार्य प्रभावित नहुने अपेक्षा गरिएको छ।


































