मधेश प्रदेश अन्तर्गत धनुषामा प्रेम सम्बन्धले भयावह मोड लिँदा २० वर्षीय एक युवकले ज्यान गुमाएका छन्।
धनुषाको औरही गाउँपालिका–६ चक्करस्थित खेतमा बिहीबार हंसपुरका २० वर्षीय सुमित कुमार मण्डल मृत अवस्थामा फेला परेका थिए। घाँटी रेटिएको अवस्थामा भेटिएको शवले गाउँ नै स्तब्ध बनाएको थियो।
घटनाको अनुसन्धान गर्दै गएको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनमार्फत प्रेम सम्बन्धकै कारण हत्या भएको खुलासा गरेको छ। प्रहरीका अनुसार सुमित आफ्नी प्रेमिका काजल मण्डलसँग भेट्न गएका बेला उनका काका परमेश्वर मण्डल र भाइ दिपेश मण्डलले कुटपिट गरी हात बाँधेर खेतमा लगेर धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए।
प्रेमको एक वर्ष लामो चिनजान अन्ततः रगतले लेखिएको पीडादायी कथामा परिणत भएको छ। घटनामा संलग्न तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।


































