आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मकवानपुर जिल्लाभर खटिएका कर्मचारी तथा सुरक्षाकर्मी आज अपराह्नसम्म सबै मतदान केन्द्रमा पुग्ने भएका छन्। निर्वाचन अधिकृतको कार्यालय मकवानपुर ले सोमबार अपराह्नसम्म सम्पूर्ण जनशक्तिलाई आ–आफ्नो केन्द्रमा अनिवार्य रूपमा पुग्न निर्देशन दिएको जनाएको छ।
दुर्गम तथा विकट क्षेत्रका मतदान केन्द्रहरूमा भने केही दिनअघि नै सुरक्षाकर्मीसहितको टोली पुगिसकेको छ। यातायात सुविधा पुगेका स्थानहरूमा आजै केन्द्रमा पुगेर आवश्यक तयारी सम्पन्न गर्न आयोगको निर्देशन छ।
मतदानमा खटिएका कर्मचारीहरूले सोमबार साँझसम्म मतदान केन्द्रको चारकिल्ला निर्धारण गरी केन्द्र रहेको स्थान स्पष्ट देखिनेगरी सूचना टाँस्नुपर्नेछ। यसबाट सर्वसाधारणले मतदान क्षेत्रको सीमाना सजिलै थाहा पाउनेछन्।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट सुरक्षाकर्मीको उपस्थितिमा सम्बन्धित मतदान अधिकृतहरूले मतपत्र लगायत निर्वाचन सामग्री बुझ्ने व्यवस्था मिलाइएको छ। मतदान सम्पन्न नहुन्जेलसम्म कर्मचारी र सुरक्षाकर्मी संयुक्त रूपमा केन्द्रमै रहनेछन्।
मतपत्र र अन्य सामग्रीको सुरक्षा जिम्मा नेपाल प्रहरी लाई दिइएको छ। निर्वाचन सामग्री र कर्मचारीको २४सै घण्टा निगरानी गर्न तथा कुनै पनि अवस्थामा साथ नछाड्न सुरक्षा निकायलाई निर्देशन दिइएको छ।
निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित बनाउन जिल्लाभर कर्मचारी तथा सुरक्षाकर्मीको पूर्ण परिचालन गरिएको जनाइएको छ।
मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत ६२ मतदान स्थल र १७८ मतदान केन्द्र छन् भने क्षेत्र नम्बर २ मा १०५ मतदान स्थल र १९६ मतदान केन्द्र कायम छन्। साथै भीमफेदी कारागारमा कैदीबन्दीका लागि र हेटौँडामा कर्मचारीका लागि अस्थायी मतदान केन्द्र व्यवस्था गरिएको छ।
जिल्लामा कुल मतदाता संख्या ३ लाख १५ हजार ३३४ रहेको छ। क्षेत्र नम्बर १ मा १ लाख ५८ हजार ४३५ मतदाता (पुरुष ७९,६२१, महिला ७८,८१०, अन्य ४) रहेका छन् भने क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८९९ मतदाता (पुरुष ८२,३३२, महिला ७४,५६६, अन्य १) कायम छन्।


































