निर्वाचनको महत्त्व बुझाउने र बदर मत घटाउने लक्ष्यसहित सञ्चालन गरिएको राष्ट्रिय मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ। निर्वाचन आयोग ले देशभरका ६ हजार ७ सय ४३ वटै वडामा एकैपटक अभियान सञ्चालन गरेको जनाएको छ।
आयोगको स्वीकृत कार्यतालिकाअनुसार फागुन ३ गतेदेखि सुरु भएको कार्यक्रम ७ सय ५३ पालिकाका सबै वडामा हिजोसम्म सम्पन्न भएको हो। प्रत्येक वडामा मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरी घरदैलोमै पुगेर मतदातालाई जानकारी दिइएको थियो।
निर्वाचन आयुक्त जानकीकुमारी तुलाधर ले घर–घरमा पुगेर मतदाता शिक्षा प्रदान गर्ने स्वयम्सेवकको सक्रियताले अभियान प्रभावकारी बनेको बताउनुभयो। विशेषगरी महिला स्वास्थ्य स्वयम्सेविकाको भूमिकालाई उहाँले प्रशंसनीय भन्दै लक्षित उद्देश्य हासिल भएको उल्लेख गर्नुभयो।
२०७९ सालको निर्वाचनदेखि स्वास्थ्य स्वयम्सेविकालाई मतदाता शिक्षा कार्यक्रमको जिम्मेवारी दिइँदै आएको छ। नमूना मतपत्र प्रयोग गरी मतदान प्रक्रिया, मत हाल्ने तरिका र निर्वाचनको महत्त्वबारे सर्वसाधारणलाई जानकारी गराइएको आयोगले जनाएको छ।
यसैबीच आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। मतदान हुने दिनअघिको ४८ घण्टा अर्थात् मतदान केन्द्र बन्द नहुन्जेलसम्म यो अवधि पालना गर्नुपर्ने व्यवस्था छ।
आयोगका अनुसार मौन अवधिमा कुनै पनि प्रकारका प्रचारप्रसार, सभा, गोष्ठी, अन्तक्रिया वा मत माग्ने गतिविधि गर्न पाइने छैन। मतदानस्थलको तीन सय मिटर आसपास राखिएका प्रचार सामग्री हटाउनुपर्नेछ भने सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य माध्यमबाट—एआई प्रयोग गरेर वा नगरी—मत माग्न समेत प्रतिबन्ध लगाइएको छ।
निर्वाचनलाई प्रभावित गर्ने गतिविधि गरेमा सम्बन्धित उम्मेदवारको मनोनयनपत्रसमेत खारेज हुन सक्ने चेतावनी आयोगले दिएको छ।


































