मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालय ले सञ्चालनमा ल्याएको अनलाइन पोर्टलमार्फत खाडी क्षेत्रमा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण भर्न आग्रह गरिएको छ। विभिन्न देशस्थित नेपाली दूतावासहरूले उक्त पोर्टलमार्फत आवश्यक सूचना उपलब्ध गराउन अनुरोध गरेका हुन्।
नेपाली दूतावास रियाद ले एक सूचना जारी गर्दै साउदी अरबमा रहेका नेपालीलाई नाम दर्ता गरी व्यक्तिगत विवरण अद्यावधिक गर्न आग्रह गरेको छ। दूतावासका अनुसार, सम्भावित आपतकालीन अवस्था वा आवश्यक कूटनीतिक पहलका लागि नागरिकको अद्यावधिक तथ्याङ्क सङ्कलन गर्न यो व्यवस्था गरिएको हो।
मन्त्रालयले तयार पारेको पोर्टलमा विशेषगरी साउदी अरब र यमन मा रहेका नेपाली नागरिकको विवरण सङ्कलन गरिने जनाइएको छ।
यसैबीच, विभिन्न राजनीतिक दलसम्बद्ध प्रवासी सङ्घसंस्थाहरूले पनि नेपाली समुदायलाई आवश्यक सहयोग पुर्याउन सम्पर्क व्यक्ति तोकेको जानकारी दिएका छन्। सरकारले आधिकारिक माध्यममार्फत सूचना प्राप्त गर्न र समयमै विवरण भर्न सबैलाई अनुरोध गरेको छ।


































