हेटौंडामा जारी बृहत खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत जिल्लास्तरीय १० किलोमिटर महिला तथा पुरुष खुला दौड प्रतियोगिता सम्पन्न भएको छ। शुक्रबार बिहान आयोजित दौड प्रतियोगितामा पुरुषतर्फ राक्सिराङ–१ का सुवास हेमजन प्रथम स्थान हासिल गर्न सफल भएका छन्। उनले २२ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन्।
पुरुषतर्फ मनहरी–८ का सन्दिप विक दोस्रो र बकैया–८ का राजकुमार गोले तेस्रो स्थानमा रहे।
महिलातर्फ भने हेटौंडा–१३ की साधना लोप्चनले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरिन्। उनले अन्य ६ जना प्रतिस्पर्धीलाई उछिन्दै उपाधि जितेकी हुन्। महिलातर्फ हेटौंडा–१३ कै अमृता मोक्तान दोस्रो, हेटौंडा–४ की सुविना गोले तेस्रो र राक्सिराङ–१ की निलिमा थिङ सान्त्वना स्थानमा रहिन्।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः २० हजार, १० हजार, ५ हजार र १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको महोत्सव अन्तर्गत विभिन्न ६ विधाका खेलकुद प्रतियोगिता आयोजना गरिने छ। दौड प्रतियोगिता मार्फत प्रतिभावान खेलाडीको पहिचान गर्दै जिल्लामा खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्य रहेको समितिका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिए।
यसैबीच शुक्रबारदेखि जिल्लास्तरीय डबल्स ब्याड्मिन्टन प्रतियोगिता पनि सुरु भएको छ। हेटौंडा–११ थानाभ¥याङस्थित कभर्ड हलमा आयोजित प्रतियोगिताको उद्घाटन मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा खेलकुदप्रेमी अरुणराज सुमार्गीले गरेका हुन्।
ब्याड्मिन्टन प्रतियोगितामा विजेताले २० हजार, उपविजेताले १० हजार तथा सान्त्वना हुनेले ५/५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समिति सदस्य मदन उप्रेतीले जानकारी दिए।

















